मोरङ/बाल अधिकार कार्यविधि पारित गर्नेमा मोरङको पथरीशनिश्चरे १ नम्वर प्रदेशको पहिलो नगरपालिका बनेको छ ।
यही वैशाख १७ गते हिउँदे अधिवेशनका रुपमा हुने नगरसभाको तयारीका क्रममा वसेको शुक्रवारको बैठकले बाल अधिकार कार्यविधि पारित गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । बालबालिकाका लागि महिलाको निकटता बात्सल्यका हिसावले पनि बढी उपयोगी हुने ठहर गर्दै नगर उपप्रमुखको संयोजकत्वमा हुने बाल संरक्षण समितिको नगरस्तरको र वडास्तरको समितिमा महिलाहरु सदस्य रहने निर्णय समेत पारित भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन ०७४ को दफा १०२ बमोजिम निर्मित कार्यविधिले नगर प्रमुख संयोजक रहेको वालमैत्री स्थानीय शासन समिति गठनको कुरा कार्यविधिमा उल्लेख छ । बालबालिकाका कार्यक्रमहरु सोही समिति मार्फत अघि बढाइने छ ।
१ नम्वर प्रदेशमै बाल अधिकार कार्यविधि पारित गर्ने स्थानीय तहमा पथरीशनिश्चरे पहिलो भएको केन्द्रीय बालकल्याण शाखा अन्तर्गत १ नम्वर प्रदेश स्रोत व्यक्ति सुमन अधिकारीले वताए । उनले तेह्थुमको छथर र इलामको सन्दकपुर गाउँपालिकाले कार्यविधि तयार गरी पारितको प्रक्रियामा जाँदै गरेको पनि उल्लेख गरे ।
आउँदो नगरसभाका लागि कार्यविधि, ऐन सहितका नीति तथा कार्यक्रमका लागि १० वजेभन्दा अघि विहानको समय र कार्यालयछिको बेलुकाको समय दैनिक रुपमा नगरपालिकाले बैठक थालेको नगर प्रमुख दिलीपकुमार राईले जनाए । नगरवासीको कामलाई पनि असर नपार्ने गरी विहान र बेलुकाको समय वैठक वस्ने काम भएको छ ।
नगर प्रमुख राईको अध्यक्षतामा वैशाख ११ गतेदेखि दैनिक वस्दै आएको वैठकले नगरपालिकाका लागि आवश्यक प्रशासनीय कानून निर्माण गर्न प्रशासकीय कार्यविधि, करारमा प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि, वहाल कर कार्यविधि र व्यबसाय कर कार्यविधि र बाल अधिकार कार्यविधि पारित गरेको छ ।