बेलबारी । दृष्टि विहीनहरुको साझा संस्था नेपाल नेत्रहिन संघको १ नम्वर प्रदेश स्तरीय भेला शनिवार मोरङको बेलबारीमा सम्पन्न भएको छ । नेपाल नेत्रहिन संघ केन्द्रिय समितिद्धारा आयोजित प्रदेश स्तरीय दृष्टि विहीनहरुको भेलाले दोर्णाचार्य निरौलाको संयोजकत्वमा एघार सदस्यीय समितिको गठन गरेको छ । समितिको सहसंयोजकमा पदम सुब्बा, सचिवमा सावित्रा कोइराला,कोषाध्यक्ष ईन्द्रकुमार लिम्वु र सहसचिव चन्द्रप्रसाद भट्टराई रहेका छन् । त्यसैगरी सदस्यहरुमा सीता बराईली,राधिका पौडेल, आस्था आले, मनकुमार लिम्वु, नारायण चौधरी र सुरेन्द्र तुम्वापो रहेका छन् । कार्यक्रमको उद्घाटन सामाजिक विकास मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि जीवन घिमिरेले गरेका थिए । नव निर्वाचित पदाधिकारीलाई वधाई तथा शुभकामना दिदै मन्त्री घिमिरेले दृष्टि विहीनहरुले उठाएका सवालमा सरकार जिम्मेवार रहेको बताउदै अब बन्ने कानुनमा उनीहरुको मागलाई सम्वोधन गरिने बताए । त्यसैगरी कार्यक्रममा बोल्दै संघका महासचिव शिशिर खनालले दृष्टि विहीनहरु बीच पनि वर्गीकरण गरेर सुविधा उपलब्ध गराउनु पर्ने बताएका छन् । पूर्ण दृष्टि विहीनहरुको सुविधा वा कोटामा अन्य अपांग वा साधारण दृष्टि विहीनहरुले सुविधा लिएको बताएका छन् । त्यसैगरी अरु बेला आफुलाई अपांग भनेर पहिचान गराउन हिचकिचाउने तर सुविधा प्रयोग गर्ने बेलामा अपांगको परिचय पत्र बोक्ने प्रवृत्तिलाई पनि निरुत्साहित गर्नुपर्ने उनले बताए । कार्यक्रम नवनिर्वाचतहरुलाई मोरङ नेत्रहिन संघका सल्लाहकार डिपी राई, राष्ट्रिय अपांग महासंघका प्रदेश अध्यक्ष राम कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही अवशरमा दृष्टि विहिनहरुका लागि ३ महिने आवशीय ब्रेल साक्षरता तथा मननशीलता कार्यक्रमको पनि उद्घाटन गरिएको छ ।