मोरङ/मोरङको पथरीशनिश्चरे नगर क्षेत्रभित्र चोरीका घटना बढेका छन् । यही क्रममा पछिल्लो पटक वडा नम्वर १० को जिरिखिम्ती पुछारमा रहेको ऐतिहासिक सिंहदेवी दुर्गा मन्दिरको ताला तोडिएको छ ।
बुधवार राती चोरी गर्ने उद्धेश्यले मन्दिरको ताला तोडिएपनि ढोका फोडेर भित्र पस्न असफल भएपछि त्यहाँको मूर्ती चोरिनबाट बचेको छ । ताला फोडिएपनि भित्रबाट ढोका अचानक लक हुन पुग्दा मूर्ती चोरी हुनबाट बचेको पथरी प्रहरी प्रमुख विजय श्रेष्ठले जनाए । विहीवार पूजारी मन्दिर पुग्दामात्र ताला फोडिएको जानकारी भएको थियो । ताला फोड्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आकर्षक र कलात्मक रुखहरुमा देवीथानका रुपमा १ सय वर्ष पुरानो सो क्षेत्रमा सांसद विकास कोषको रकम तथा पुराण लगाएर आर्थिक संकलन गरी व्यवस्थित मन्दिर वनाइएको हो । २ साता अघि वडा नम्वर १ को पथरी वजारको थापा मनि टन्सफरको सटर फुटाएर रकम चोरी भएको थियो । सो घटनाका अभियुक्तहरु पक्राउ पर्न सकेका छैनन् ।