विराटनगर । साढे ३३ किलो सुन तस्करी र उर्लाबारी शनम शाक्यको हत्याको आरोपमा पक्राउ परेका मध्ये एक हुन् काभ्रेपलान्चोकका टेकराज मल्ल ठाकुरी । उनी मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेको विश्वास पत्र हुन् । पक्राउ परेका अभियुक्त ठाकुरीलाई अपराधिक समूह स्थापना, सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यानमा मुद्दा दायर मोरङ अदालतमा बुधबार गरेको छ । उनी सहित ६ जनाको बयान बिहीबार सुरु भयो । अदालतले अभियुक्तहरुको बयान लिन सुरु गरेको पहिलो पटक टेकराजसहित अन्य ६ जना बयान लिएको छ । यस्तो छ ठकुरीको बयान २०६२ साल तिर काठमाण्डौँमा आई काकाको घरमा बस्दै आएको थिए ठकुरी । २÷३ महिना बसेपछि काम बिना बसेर नहुने सोची काकाको घरबाट निस्की कामको खोजीमा हिडे । पछिल्लो समयमा काठमाण्डौँको न्युरोड स्थितमा रहेको पार्किङमा पार्किङको शुल्क उठाउने कामको सुरुवात गरे । यस्तै क्रममा मेरो एक जना नजिककै सुनको पसल रहेको बेनु श्रेष्ठसँग चिनजान भयो । उसको सुन पसल रहेछ । उसैको सुन पसलमा काम गर्ने क्रममा गोरे भन्ने चुडामणी उप्रेती बेनुमार्फत चिनजान भयो र गोरेसँग काम गर्न सुरु गरे । एकदिन गोरे र बेनु श्रेष्ठको कुराकानी ठकुरीले सुने । गोरेले श्रेष्ठसँग भनेका थिए ‘यो केटो राम्रो काम गर्दो रहेछ यसलाई हाम्रो काममा लाउनुपर्छ ।’ त्यसपछि श्रेष्ठले आफूलाई विदेश जाने हो भनेर सोधेको ठकुरीको बयानमा उल्लेख छ । सुरूमा विदेश जान नमानेको तर श्रेष्ठले पटकपटक ‘जाउ राम्रो कमाइ हुन्छ’ भनेर फकाएको उनले बताएका छन् । ‘बेनुले मलाई पटक पटक तिमी विदेश जाउ राम्रो कमाइ हुन्छ भनेर आश देखाउथे । विदेशमा बस्ने गरी जान्नँ भनेपछि उनले लामो समय बस्नु पर्दैन । दुबई गएर १० र १५ दिन बस्ने त्यसपछि फर्किने हो । तिमीलाई पनि राम्रो कमाइ हुन्छ भनेपछि म रेडी भएँ,’ उनले बयानमा भनेका छन् । गत माघ ९ गते मल्ल र रोहित आचार्य दुबईबाट साढे ३३ किलो सुन बोकेर आए । यसपालि पनि एयरपोर्टमा सानु बनलाई जिम्मा लगाए अनि आ–आफ्नो घर गए । बेलुकामात्र सुन सम्बन्धित ठाउँमा नपुगी बाटैबाट लुटियो भन्ने खबर पाएको बयान उनले दिएका छन् । सुन हराएको खबरपछि उनले भविन राई, लाक्पा शेर्पा र टुकबहादुर मगरलाई भेटे । भारतमा रहेका गोरेलाई जानकारी पनि गराए । उनैले भने बमोजिम चारै जना २ वटा गाडीमा सुन खोज्न एयरपोर्ट पुगे । सानु बन, तक्ले र एलबी मगरलाई बोलाएर सोधपुछ गरे । सानुले दुइटा मोटरसाइकलमा आएका ४ जना अपरिचितले अनामनगरबाट सुन लुटेको बताए । उनीहरूसँग काम गर्ने मोहन काफ्ले, सनम शाक्य, रूस्तम मियाँ, कृष्ण भन्ने नरेन्द्र कार्की घर गएका थिए । भविन राईले तिनीहरूलाई फोन गरेर बोलाए । मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्की भोलिपल्ट बिहान काठमाडौं आइपुगे । रुस्तम मियाँ र सनम शाक्य पनि छुट्टाछुट्टै समयमा काठमाडौं आए । सबैलाई बोलाएर सोधीखोजी गरियो तर सुन फेला परेन । ६ र ७ दिनपछि गोरे भारतबाट आए । सबैलाई जम्मा पारेर कसरी सुन लुटियो भनि सोधपुछ गरे । अनुसन्धान थाले । ‘त्यो ठाउँबाट सुन लुटियो भन्ने कुराको विश्वास भएन यिनीहरुले यहाँ भनेनन् भारतमा लगी सोधपुछ गर्नुपर्छ भनेर गोरेले योजना बनाए,’ ठकुरीले बयानमा भनेका छन् । काफ्ले, सनम शाक्य, कृष्ण भन्ने नरेन्द्र कार्की, टुकबहादुर मगर, सुरेन्द्र गौतम, तक्ले, एलबी मगर, सानु बन, बालकृष्ण खत्रीलाई गोरेले सिन्धुलीको खनियाँ खर्क पुर्याए । सोधपुछबाट भुर्जुन भोटेले साढे ३३ किलो सुन लगेको छ भन्ने निष्कर्ष निक्लियो । सबै काठमाडौं फर्के । भुर्जुन भोटेको खोजबिन हुँदै थियो सानु बन परिवारसहित गायब भए । त्यही बेला सनम शाक्य सालाको बिहे छ भनेर गोरेसँग विदा भए । भोलिपल्ट २० किलो सुन प्रहरीले एयरपोर्टबाट समातेको खबर आयो । गोरेले सुन प्रहरीले समात्यो सबै जना सेभ बस्नु भने । सुन फेला परेको हल्लामात्रै रहेछ भन्ने थाहा पाएपछि फेरि उनीहरूले सानु बनलाई खोज्न थाले । ‘सानु बनको टिममा एयरपोर्ट भित्रका कर्मचारी तक्ले, एलबी मगर, बालकृष्ण खत्रीलाई सोधपुछ गर्न थाल्यौं,’ मल्लले बयानमा भनेका छन, ‘सानु बन गायब भएको ४ दिनपछि एयरपोर्टमै रहेको कुरा थाहा भयो । म, गोरे, लाक्पा शेर्पा, भविन राई, रोहित आचार्यलगायत एयरपोर्टको गेटबाहिर बस्यौं ।’ सानु बनलाई बोलाउन एलबी मगरलाई एयरपोट्भित्र पठाइयो । मगरले सानु बन बाहिर नआउने भने । सानु बनलाई बोलाउन मगर फेरि गए । तर पनि बन आएनन् । केही मिनेटपछि नेपाल आयल निगमको ट्याङकरले किचेर सानु बनको मृत्यु भयो भन्ने खबर आयो ।

यसरी भयो सनम शाक्यको हत्या सानु बनको ट्याङकरले किचेर मृत्यु भएपछि गोरे, रुस्तम मियाँ, लाक्पा शेर्पा, दावा शेर्पा, रोहित आचार्य र भोजराज भण्डारी कोही ट्याक्सीमा र कोही नाइट बसमा पूर्वतर्फ हानिए । उनीहरू पूर्वतिर आएकोे मोहन काफ्ले र सनम शाक्यले थाहा पाए । उनीहरु भागेर आसामतिर गए । यो कुरा थाहा पाएपछि गोरेले उनीहरूको परिवारलाई कहाँ छ बोलाऊ भनेर दबाब दिए । परिवारलाई दबाब दिएको थाहा पाएपछि उनीहरू गोरेको सम्पर्कमा आए । सिलगुढीमा गोरेको सनम र मोहनसँग भेट भयो । त्यहाँ अलिअलि कुटपिट पनि भयो । अरूसँग पनि सोधखोज गर्दा मोहन, सनम, रुस्तम मियाँ, कृष्ण भन्ने नरेन्द्र कार्कीमाथि गोरेको शंका बढ्यो । उनले कुरा निकाल्न नयाँ उपाय लगाए सबै जना पिकनिक जाने । उर्लाबारी नजिकैको जंगलमा पिकनिक गए । त्यसपछि धरानमा रहेको निर्वाना क्लबमा बसे । उनीहरू जहाँजहाँ बस्थे गोरेले सुन पत्ता लगाउन एकअर्कालाई कुट्न लगाउँथे । कहिले सनमले पिट्थे कहिले पिटाइ खान्थे । एकले अर्कालाई पिट्दा खासमा सुन हराउनमा सनम, नरेन्द्र र मोहनको हात छ भन्ने निष्कर्षमा गोरे पुगे । ‘भविन राईले सुन हराएको दिन सनम शाक्य काठमाडौंमा नै रहेको बतायो । सुन हराएको जानकारी पाउँदासमेत पूर्व छु भनी सनमले ठगेको मोहन र नरेन्द्रलाई थाहा भएको पत्ता लाग्यो । सालोको बिहेमा उर्लाबारी जान्छु भनी तर सनम निशासिंह ठकुरीसँग काठमाडौंको होटलमा बसेको कुरा खुल्यो । त्यसपछि पनि गोरेले उनीहरूलाई सँगै लिएर हिँडे । उनीहरू फरकफरक गाडीमा हिँड्थे । ‘फागुन १८ गते उर्लाबारी १ कान्छी चौक सोल्टीखोला नजिकको चउरमा पुग्दा गोरे पहिले नै पुगिसकेका रहेछन,’ ठकुरीले भनेका छन, ‘मोहन काफ्लेको हात खुट्टा बाँधी गोरेले पाइपले कुट्दै थियो । सनम र नरेन्द्र म चढेको गाडीमा थिए । उनीहरूलाई पनि गाडीबाट निकालेर हातखुट्टा बाँधी पाइपले कुट्न थाले ।’ मान्छेले देख्ने भएपछि काफ्ले र शाक्यलाई जंगलमा लगियो । रूखमा बाँधेर कुटियो । फेरि गाडीमा राखेर करेन्ट लगाइयो । सनम बेहोस भए तर सुनबारे मुख खोलेनन् । ठकुरीले गोरेलाई भने सनम त बेहोस भयो । सुनबारे नबोलेसम्म करेन्ट लगाउन नछोड्नु भन्ने गोरेको निर्देशन थियो । ‘सनमको सास बन्द भयो । म¥यो कि भनी हेर्दा धड्कन नचलेपछि मर्न त दिनु हुन्न भनेर हतारहतार ड्राइभरलाई ग्लुकोज लिन पठाएँ,’ उनले बयानमा भनेका छन, ‘ग्लुकोज लिएर आउँदासम्म सनम मरिसकेको थियो । अब के गर्ने भन्ने सल्लाह भयो ।’ केहीले सनमको लास कोशी वा त्रिशुलीमा फाली दिनुपर्छ भने । कसैले काल्पनिक एक्सिडेन्टजस्तो बनाएर छाडी दिनुपर्ने बताए । ‘तर गोरेले जंगलमै खाल्डोमा पुर्न पर्छ भनेर लाक्पा शेर्पा र टुकबहादुर मगरलाई खाल्डो खन्न लगायो । अलिकति खनेपछि उसले कता फोन र्गयो र खाल्डो खन्न छोड्दे भन्यो,’ ठकुरीले भनेका छन् । उनीहरू गाडीमा लास बोकेर धरानको निर्भाना कन्ट्री क्लब पुगे । कोही बियर खान थाले, कोही गफमा भुले । मल्लको बयान अनुसार उनीहरूको योजना धरानबाट बिहानमात्र हिँड्ने थियो तर कसैले गोरेलाई फोनमा सनम मरेको कुरा उर्लाबारीमा थाहा भइसकेको सुनायो । अरू तितरबितर भए । गोरे र मल्लचाहिँ सँगै थिए । शनमको करेन्ट लगाउँदा लगाउँदै मृत्यु भएपछि शव लुकाउन जिम्मा गोरेले ठकुरीलाई दिए । उनले शाक्यको लाश माथि तौलिया राखी बिरामी भएको जस्तो देखाई ठकुरीले गाडी धरानको निर्भाना कन्ट्री क्बल तिर लगे । ठकुरीसँगै सुरेन्द्र गौतम, टुक बहादुर मगर, रोहित आचार्य, कृष्ण भन्ने नरेन्द्र कार्की र लाक्पा शेर्पा अन्य गाडीमा कन्ट्री क्लबमा आए । क्बलमा पुगेपछि कोहि बियर खान थाले कोहि गफ गरेर बस्न थाले । शनम मरेको खबर उर्लाबारीमा हल्ला भएको जानकारी पाएपछि भबिन राई, रुस्तम मिया, रोहित आचार्य र राजन भन्ने ड्राइभरलाई गोरले ३÷३ हजार दिएर काठमाण्डौ पठाए । मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्कीले घटनाबारे कसैलाई जानकारी नदिने गोरेलाई भनेपछि मे १ च ५३९५ नं.को टाटा हाईलेक्स गाडी लिएर उनीहरु घर गए । एकछिनमा गोरेले संजेल (सई बालकृष्ण संजेल) मामालाई फोन गरे । सनमको मृत्यु भएको जानकारी गराए । ‘मामा केस मिलाइदिनु तपाईंलाई २ करोड दिन्छु’ भन्दै फोन राखे । ‘फोन राखेपछि गोरेले मलाई सनमको लास जिम्मा लेऊ तिम्रो परिवारलाई ५० लाख दिन्छु र सेटल पनि गरिदिन्छु भने । मैले हुन्छ भनें,’ मल्लको बयानमा उल्लेख छ । लास जिम्मा लगाउँदा गोरेले अपराध महाशाखाका प्रहरीसँग सबै कुरा भइसकेको र टोली नआउन्जेलसम्म धरानमा लास घुमाउँदै बस् भने । ‘महाशाखाबाट प्रहरीको टोली आइपुगेपछि तँलाई भेटेर सबै कुरा उनीहरूले नै मिलाउछन् । तैंले चिन्ता लिनु पर्दैन । तँलाई जसरी पनि अदालतबाट निकाल्ने काम मेरो हो भनी मलाई विश्वास दिलायो त्यसपछि म गाडी लिएर निस्कें,’ उनले बयानमा भनेका छन् । गोरेले मामा भन्ने सई संजेल डिएसपी प्रजित केसीसँगै आए । उनीहरूसँग एक रात होटलमा बसेको बयान पनि ठकुरीले दिएका छन् । ‘इटहरीको स्वास्तिका होटेलको कोठा नम्बर ५०६ मा केसी, ५०९ मा प्रहरी जवान मेष राना, प्रहरीको गाडी चालक र म बस्यौ ं। संजेल मामा ५१० बसे,’ उनले बयानमा भनेका छन् । प्रहरी टोलीसँग लास कतै जंगलमा लिएर फाल्ने कुरा भयो । ‘दुहवी आएपछि केसीले मेष रानालाई फोन गरे । उनले जंगल खोजेर लासको व्यवस्थापन गर्न भने । त्यसपछि हामी दुहवी बजारबाट दाहिनेतर्फ गयौं,’ उनको बयानमा उल्लेख छ । जंगल नभेटिएपछि विराटनगरतर्फ आउँदै गर्दा आफूसँगै बसेका प्रहरीले हतकडी लगाएर पक्रेको ठकुरीले बयान दिएका छन् । त्यसपछि उनी प्रहरीको हिरासतमा पुगे ।