इटहरी । सुन तस्करी गर्ने गिरोहले उर्लाबारीका सनम शाक्यको हत्या गरी प्रहरी स्कर्टिङमा शव ल्याएर इटहरीस्थित स्वस्तिक गेष्ट हाउसमा राखेको खुलासा भएको छ । प्रहरीकै संलग्नतामा शव लुकाउन कुरो नमिल्दा अपराधीहरू कोठामा बसे पनि शवलाई भने स्कारपियोको डिकीमा राखिएको खुलासा भएको हो । गत फागुन १८ गते होलीको दिन हत्या गरी सोही दिन बिहान साढे ३ बजे प्रहरीको स्कर्टिङमा शव बोकेको स्कारपियो गेष्ट हाउसमा आएको पाइएको हो । स्कारपियोमा आएका पाँचजना गोविन्द राणाको नाममा ५०६, ५०९ र ५१० नम्बर कोठा बुक गरेर बसेको पाइएको छ । राणाको ठेगाना भने काठमाडौँ र इटहरी लेखिएको छ । होटलका सञ्चालक माधव खत्रीले साढे ३ बजे ‘कोठा छ ?’ भनेर फोन आएपछि शुरुमा आपूmलाई कसैले जिस्काएको होला भन्ने लागेको बताए । विश्वास नलागेर गार्ड सन्तोष भुजेलसँग बुभ्mदा उनले ग्राहक भएको बताएपछि ढोका खोलिदिएको सञ्चालक खत्रीले सुनाए । ‘गार्डले सरकारी गाडीले स्कर्टिङ गरेका मान्छे छन्, राम्रा मान्छे हुन् भनेपछि मैले कोठा लगाएको हुँ ।’ उनको भनाइ छ । उनीहरूले फोन नम्बर ९८४१३६८९९५ समेत गेष्ट हाउसमा टिपाएका छन् । होटलमा पाँचजना मात्र बसे पनि स्कारपियो गाडीमा कोको थिए भन्ने आपूmहरूलाई थाहा नभएको खत्रीले बताए । गार्ड भुजेलले प्रहरीको गाडी स्कारपियोमा बत्ती बाल्दै पश्चिम लाइनबाट आएको र गेष्ट हाउसमुनि स्कारपियो रोकिएपछि सो गाडी उतै फर्किएको बताए । स्रोतका अनुसार डीएसपी प्रजित केसीले शाक्यको शव बेपत्ता पारिदिने भन्दै २ करोड रूपैयाँमा बार्गेनिङ गरेका थिए । शवसँग डीएसपी केसीकै नेतृत्वमा होटलमा टोली आएको एक प्रहरी उच्च स्रोतको दाबी छ । सुन तस्करी र शाक्य हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ । त्रिभुवन विमानस्थलबाट गत माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके चूडामणि उप्रेती नेतृत्वको समूहले शाक्यलाई करेन्ट लगाएर गत फागुन १८ मा हत्या गरेको थियो । कहाँ हरायो ३३ केजी सुन ? शाक्यको हत्यापछि प्रहरी सङ्गठनमा खैलाबैला मच्चिएको छ । प्रहरी अधिकृतहरू नै धमाधम पक्राउ पर्न थाले पनि विमानस्थलबाट हराएको सुन कहाँ गयो भन्ने विषयमा प्रहरीले सुइँको पाउन सकेको छैन । सुनको खोजीसमेत प्रहरीले अहिलेसम्म नगरेको एक प्रहरीले बताए । सुन हराएपछि गोरेले सुन आधा–आधा भाग लगाउने आश्वासन सइ बालकृष्णलाई दिएपछि उनले प्रहरीभित्र मिलाउन सुन खोज्दै जाँदा शाक्यको हत्यासम्म हुन पुगेको हो । सुन प्रकरणमा तीनजनाको ज्यान गइसके पनि सो सुन कहाँ छ भन्ने अत्तोपत्तो कसैलाई छैन ।