विराटनगर/ आफैलाई गोली हान्न लगाउने हिन्दु धर्मगुरु श्रीनिवासाचार्य पक्राउ परेका छन् । देशमा हिन्दु धर्म कायम गर्ने वातावारण सृजना गराउन भन्दै श्रीनिवासाचार्य आफैँले आफूलाई गोली हान्न योजना बनाएको कुरा प्रहरी अनुसन्धानबाट खुलेको हो ।  उनकै योजनामा आफ्ना अङ्गरक्षक रहेका नवलपरासी गैडाकोट नगरपालिका ५ का ३२ वर्षिय माधब चौधरीले गोली प्रहार गरेका हुन् भने नवलपरासी गैडाकोट ५ का ३२ वर्षिय सन्तोष भन्ने लक्ष्मी राज अधिकारीले गोलीसहितको पेस्तोल उपलब्ध गराइदिएका थिए ।

गत चैत २५ गते राति मोरङको बिराटनगरमा भएको गोली प्रहारको घटना अनुसन्धानका क्रममा प्रहरीले श्रीनिवासाचार्यलाई काठमाडौँको विमानस्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।  धर्मगुरुकै योजनामा गोली हान्ने र पेस्तोल उपलब्ध गराउने दुई युवासहित धर्मगुरुलाई मोरङ प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सर्वजानिक गरेको छ ।  मोरङको विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको श्री रामजानकी मन्दिर परिसरमा लाग्ने श्रीमदभागवत सप्ताह पुराणका लागि मूख्य बाचकका रुपमा आएका बाराको सिमरा उपमहानगरपालिका–३ घर भई हाल सुनसरीको बराह नगरपालिका–६ स्थित चक्रघट्टीस्थित लक्ष्मी बैंकटेसको आश्रममा बस्ने २४ वर्षीय श्रीनिवासाचार्यमाथि गत चैत २५ गते बिहानको राति १ बजेर ४५ मिनेटमा गोली प्रहार भएको थियाे ।