पाँचथर । धार्मिक पर्यटकीयस्थल फिदिम नगरपालिका–६, लब्रेकुटिमा सोमबार ८८ औं समाज सुधार दिवश मनाइएको छ । दिवशको अवशरमा आयोजित समारोहको प्रदेश–१ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियतले उद्घाटन गरे । समारोहलाई सम्बोधन गर्दै मन्त्री कुसियतले सबै धर्म, संस्कार र संस्कृतिको संरक्षण हुनुपर्नेमा जोड दिए । उनले राष्ट्र विभूति फाल्गुनन्दको तपोभूमि पाँचथरको लब्रेकुटि र उनको समाधीस्थल सिलौटि क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न प्रदेश सरकारले यसपल्ट १० लाख रुपैंयाँ रकम बिनियोजन गरेर सुरुवात गरेको बताए । दिवशको अवशरमा वर्तमान किरात धर्मगुरु आत्मनन्द लिङदेन र धर्मपत्नी पवित्राहाङ्मा साँवा लिङदेनको समेत लब्रेकुटिमा आगमन भएको छ । दिवशमा नेपालका विभिन्न जिल्ला सँगै भारत, भुटान र बर्मा सम्मका भक्तजनहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । वि.सं. १९८८ साल बैशाख २५ गते १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनले किरात समाज सुधारको लागि लब्रेकुटिमा ७ बुँदे सत्य धर्म मुचुल्का घोषणा गरेका थिए । तत्कालीन १० लिम्बू १७ थुमका प्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थितिमा फाल्गुनन्दले उक्त सत्य धर्म मुचुल्का घोषणा गरेका थिए । सत्य धर्म मुचुल्कामा नारी जाति सृष्टिकर्ता भएकाले उसको उच्च सम्मान गर्नुपर्ने, छोरी चेलीको बिवाहमा सोतरित, सुनौली, रुपौली लिन नहुने, कुनै पनि कर्मकाण्ड गर्दा जीव हत्या र मद्यपानको प्रयोग बन्द गर्ने लगायतका कुरा उल्लेख रहेको छ । उक्त सत्य धर्म मुचुल्कालाई किरात समाज सुधारका लागि हालसम्मकै महत्वपूर्ण दस्तावेजको रुपमा लिने गरिएको छ । यसैबीच समाचारको माध्यमबाट लब्रेकुटि क्षेत्रको पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याएको भन्दै ब्लाष्टकर्मी सहित ७ पत्रकारलाई सम्मान समेत गरिएको छ । ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका पाँचथर संवाददाता सन्देश सुब्बा सहित पत्रकारहरु बिजयबोध लाओती, नारायण तुम्बापो, लेखनाथ खतिवडा, गिरिराज बाँस्कोटा, भीम कुमार बाँस्कोटा, उपेन्द्र येक्तेन र लक्ष्मी लिम्बूलाई सम्मान गरिएको हो । ८८ औं समाज सुधार दिवश किरात धर्म तथा साहित्य उत्थान संघ पाँचथर र किरात साङसेन वरक चोत्लुङ माङहिम लब्रेकुटिले संयुक्त रुपमा मनाएका हुन् ।