पाँचथर । प्रदेश–१ का मूख्यमन्त्री शेरधन राईले जनताले देखेको समृद्धिको सपनालाई पूरा गरेरै छाड्ने बताएका छन् । पाँचथर सदरमुकाम फिदिममा सोमबार प्रेश चौतारी र प्रेश सेन्टरले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मूख्यमन्त्री राईले मुलुक सुल्टो बाटोमा हिंडिसकेकाले अब कुनै दुबिधा पाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे । मूख्यमन्त्री राईले अब केन्द्रीकृत मानसिकता त्यागेर संघीयताको मर्म अनुसार मुलुकलाई अघि बढाउँनुपर्नेमा जोड दिए । उनले भने– ‘मैंले सम्माननीय प्रधानमन्त्रीलाई भनिसकेको छु, छिट्टै अधिकारहरु सुम्पेर प्रदेशलाई बलियो बनाउँनुस, तब मात्र चाँडै समृद्धि हाँसिल गर्न सकिन्छ ।’ संघीयता कार्यान्वयन नहोस भन्ने शक्तिहरु अझै पनि सक्रिय रहेको उल्लेख गर्दै राईले संघीयता प्रति जनतालाई बितुष्णा पैदा हुने स्पेश कतै नराख्ने दाबि गरे । शान्ति, सुरक्षा र शुसासन कायम गर्ने सवालमा सरकार कठोर रुपमा प्रस्तुत हुने समेत मूख्यमन्त्री राईले बताए । प्रदेशको स्थाई राजधानी र नामाङकनको बिषयलाई सहमतिबाटै टुङ्ग्याउँन प्रदेशसभामा अधिकतम प्रयास गरिने पनि उनको भनाई थियो । जिल्लाको हिलिहाङ गाउँपालिकामा अवस्थित ऐतिहासिक हिलिहाङ दरबार क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि सोमबारदेखि सुरु भएको प्रथम हिलिहाङ महोत्सवको उद्घाटन गर्न मूख्यमन्त्री राई पाँचथर आएका हुन् । महोत्सव २८ बैशाखसम्म चल्नेछ ।