शनिश्चरे/पूर्वको विकासको गतिमा सक्रिय मोरङको पथरीशनिश्चरेस्थित पथरी बजारको सडक क्षेत्रलाई व्यवस्थित गर्ने अभियान अन्तर्गत ३ दिनमा पूर्वपश्चिम मुख्य सडक क्षेत्र खाली भएको छ ।
पूर्वपश्चिम मुख्य सडकको बजार क्षेत्रमा पर्ने सडक किनारामा सर-सामान राख्ने, पसल, टहरा निर्माण गर्ने गर्नाले बजारको सुन्दरता बिग्रिनुका साथै यातायातका साधन दुर्घटना समेत बढेको अवस्था विद्यमान छ । सो अवस्थालाई मध्यनजर गरी पथरी शनिश्चरे नगरपालिकाको अगुवाईमा पथरी उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीका साथै स्थानीयबासीहरुको सहकार्यमा मुख्य सडक क्षेत्रमा निर्माण भएका पसल, टहरा, निर्माण सामग्री, रुख बिरुवा सहित विभिन्न सामग्री हटाउने काम सम्पन्न भएको हो । स्काभेटरको सहयोगमा सडक क्षेत्र खाली गर्ने क्रममा सडक क्षेत्रमा परेका रुख, धर्मशाला, बोर्ड लगायत सम्पूर्ण सामग्री हटाएर सडक पूर्ण खाली बनाइएको छ ।
यस क्रममा पछिल्लो दिन आज पूर्वकै चर्चित व्यबसायिक स्टोर गोरखा डिपार्टमेन्ट स्टोरले सडकको कालेपत्रेसम्म जोडेर बनाएको फुलवारी, ड्याम समेत भत्काइएको छ । २ वर्षअघि स्टोर सुरु गरेको उसले १ सय ५ फिट सडक क्षेत्र नछोडी ८२ फिटको सीमानामा स्टोरको भवन बनाएको र अगाडि दायाँ बायाँको भागभन्दा अग्लो डिल उठाएर फुलवारी बनाएको थियो । साना छाप्रादेखि ठूलाका भवनसम्मलाई समान व्यबहार गरिनु पर्ने स्थानीयको माग अनुरुप सो डिपार्टमेन्ट सहित सडक क्षेत्रमा उठाइएका डिल भत्काइएको छ ।
सो अभियानमा नगर उपप्रमुख यमुना विष्ट बास्तोलाको अगुवाईमा विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य, नगरपालिका कर्मचारी, सुरक्षाकर्मी सहितले सडकको दुवैतर्फ ८२/८२ फिट सडक क्षेत्र नापजाँच गरेर सो भाग खाली गर्ने काम भएको हो । जसमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत सहितका संघका पदाधिकारी एवम् व्यवसायीहरुको सहभागिता रहेको छ ।
उपप्रमुख बास्तोलाले सो क्षेत्रलाई सम्याउँदै सडकको सीमाक्षेत्रमा ड्रेन निर्माणको योजना अघि सारिने बताइन् । उनले नगरको मुख्यचोकको सुन्दरता कायम गर्न सवैको सधैंको सक्रिय सहकार्यको आव्हान गरिन् । साथै उनले सडक क्षेत्र खाली गर्ने अभियानमा स्थानीयको सक्रिय सहकार्य रहेको उल्लेख गर्दै अब नगरका सहायक सडक क्षेत्रपनि उसैगरी खाली गरिने जनाइन् ।