ताप्लेजुङ । ताप्लेजुङमा गएराती विश्वकप फुटवल हेरेर फर्कने क्रममा बाडीमा परि एक जना बेपत्ता भएका छन् । फुङलिङ नगरपालिका–९ हाङ्देवाबाट सदरमुकाम आउने क्रममा लप्सेखोलामा मोटरसाईकल सहित तर्दै गर्दा अचानक आएको बाडीमा परि ईलाम घर भई सदरमुकाम फुङलिङको पाथिभरा मोटरसाईकल वर्कसपमा काम गर्दै आएका सनम राई बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सनम हाङदेवा स्थित जनता मावि परिसरमा विश्वकप फुटबल खेल हेर्न बनाइएको हलबाट राती सदरमुकाम तर्फ फर्कने क्रममा रहेका थिए । उनि चढेको मोटरसाईकल झण्डै १५ मिटर तल पुरिएको अवस्थामा फेला परे पनि सनम भने वेपत्ता रहेको बताईएको छ । यस्तै मोटरसाईकलको पछाडी रहेका वर्ष १८ का खड्क विक भने हाम फालेर बाँच्न सफल भएका छन् । वेपत्ता सनमको खोजी भईरहेको प्रहरीले जनाएको छ । यस्तै गए राती जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले क्षति पुर्याएको बताईएको छ । कहाँ कति क्षति भयो भन्ने विवरण संकलन भईरहेको बताईएको छ । कतिपय ठाउँमा सडक समेत अवरुद्ध भएका खबर आएको प्रहरीले जनाएको छ ।