पथरी । मोरङ कानेपोखरी–४ को भलुवा खोलामा निमार्णाधिन भलुवा जल सिँचाई बाँधमा व्यापक भ्रष्टचार भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।
इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ठेकेदार र निमार्ण समितिका केही पदाधिकारीलाई कारबाही गर्नुपर्ने भन्दै उपभोक्ताले बिहीबार उजुरी दिएका हुन् । अख्तियारमा ३०३१ नम्बरमा निवेदन दर्ता भएको छ । उपभोक्ताले एम÷एस कन्काई–रौताह जेभी काठमाडौंका ठेकेदार धिरेन्द्र दाहाल, उपभोक्ता समितिका अध्यक्ष, सचिव र अनुगमन समितिका संयोजकलाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन् ।
कमसल सामग्री प्रयोगका कारण निर्माणसम्पन्न भएको २५० फुट लम्बाइको बाँध पनि जीर्ण बनिसकेको उपभोक्ताको आरोप छ । अझै ढेड मिटर कल्र्भट बन्न बाँकी रहे पनि निर्माण सम्पन्न भएको भन्दै कागजात बनाएको उपभोक्ताको दाबी छ ।
योजनाको फरफारक र हस्तान्तरण गुपचुप गरेको, समितिले प्रतिबिघा ५ हजारको दरले ३५० विघा जग्गाको संकलित रकम हिनामिना गरेको आरोप समितिलाई लागेको छ । योजनाविरुद्धमा उपभोक्ताले वडामासमेत निवेदन दिएका थिए ।
वडाले अनुगमन गरी ठेकेदारले काम नगरेको भन्दै दिएको प्रतिवेदन उपभोक्ताले अख्तियारमा बुझाएका छन् । सम्पन्न नगरी सम्पन्न गरेको कागजात बनाएका समितिका पदाधिकारीलाई कारबाही नभए अख्तियारबाहेक अन्य निकायमा जाने स्थानीय उपभोक्ता टंक मिश्रले बताए ।
कमसल सामग्री प्रयोका कारण निर्माण सम्पन्न नभई नै पैनी चर्किने र भत्किन थालेको स्थानीय धनबहादुर धिमालले बताए । ठेकदार कम्पनीले ४ बर्ष पुगे पनि काम सम्पन्न गर्न सकेको छैन् । २०७३ जेठ २८ गते काम सम्पन्न हुने गरी चारकरोड ७१ लाख ७० हजार ९८८ रुपैयामा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०७१ चैत २५ गतेदेखि काम सुरु भएको थियो । सम्झौताको म्याद दुईवर्ष कटिसकेको छ ।
यता कम्पनीका ठेकेदार धिरेन्द्र दाहालले सम्झौता अनुसार नै काम गरेको दाबी गरे । उनले काम सम्पन्न हुन लागेकाले सोमबार स्थलगत अवलोकनपछि समूहलाई जिम्मा लगाउने दाबी गरे । तर, स्थानीय मेघनाथ लिम्बूले भने समितिले लापरबाही गरेको दाबी गर्दै आएका छन् । उनले योजनाको लागत अनुमान देखाउनको लागि समितिका सचिव दाहाललाई आग्रह गर्दा आफूलाई नै थाहा नभएको बताउने गरेको बताए ।
मुहानको बाँधसमेत सम्झौताअनुसार नगरेको स्थानीय दीपक घिसिङले बताए । उनका अनुसार उत्तरपट्टीको बाँध तीन फुट होचो र दक्षिणतर्फ एकसय फुट लम्बाइ हुनु पर्नेमा आधा मात्रै तारजालीसहितको माटो भरेको छ ।
५ बर्षअघि भलुवा जलसिंचाई उपभोक्ता समूहले हरेकवर्ष उपभोक्ताबाट बाँध बाध्न भन्दै रकम संकलन गरेको थियो । एक विगाहा बराबर ५ हजारको हिसावले कानेपोखरी–३ र ४ गरी २ सय ७५ विगाहा क्षेत्रफलबाट १३ लाख ७५ हजार रकम संकलन गरिएको थियो । रकम संकलन गर्दा २०७२ को जेठमै पानी आउने बताएको उपभोक्ता मेघनाथ लिम्बू बताउँछन् । ‘यत्रो रकम उठाएर के गर्यो समूहले ।’ उनी भन्छन्, ‘रकम संकलन गरेको ४ बर्ष बितिसक्यो के मा खर्च ग¥यो सवै रकमको खोजी हुनुपर्छ ।’ यता समूहका सचिव दाहालले सबै उपभोक्ताहरुबाट रकमसमेत नउठेको प्रतिक्रिया दिँदै उठेको रकम बैंकमा राखिएको बताए ।