बेलबारी । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले विराटनगरलाई अन्तरराष्ट्रिय विमान स्थल बनाएर दशैं देखि माउण्टेन फ्लाईट गर्ने बताएका छन् । शुक्रवार मोरङको केराबारी गाउँपालिकाको दोश्रो गाउँसभाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सो बताएका हुन् । काठमाण्डौंको चाप घटाउन प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगरमा अन्तरराष्ट्रिय विमान स्थल बनाएर दशैंपछि माउण्टेन फ्लाईट शुरु गर्ने मन्त्री पण्डितले बताए । एकसय सीट क्षमता भएको विमानलाई संचालनमा ल्याएर यस क्षेत्रका वासिन्दाहरुलाई सेवा दिने बताए । त्यसैगरी चुरेफेदीमा नेपालको अर्को गौरवको योजना मदन भण्डारी मार्ग निर्माण शुरु हुने बताएका छन् । नयाँ सडक बनेपछि यातायात व्यवस्थित हुने , पुल र ड्याम्प निर्माणले चुरेवासीलाई सुरक्षित हुने पनि बताएका छन् । मन्त्री पण्डितले एडिबीको लगानीमा उक्त बाटो निर्माण हुन लागेको बताए । त्यसैगरी अहिले मोरङमा विशेष गरेर बाढीले ठूलो धनजनको क्षति गरेको हुँदा यसको प्राथमिकताको आधारमा तटवन्ध कार्य गर्दै जाने बताएका छन् । एकैचोटी मोरङको खोलामा जोखिम हटाउन ३ खरब लाग्ने पनि उनले बताए । कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत् गरेका थिए । अध्यक्ष कार्कीले आर्थिक वर्ष २०७५÷७६ का लागि कुल ३९ करोड ३ लाख ८ हजार बजेट प्रस्तुत् गरेको छ । बजेटले विकासका पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । पूर्वाधार मैत्री लगानी , स्वरोजगार उन्मुख विहानी भन्ने नारालाई अगाडि सारेर गाउँपालिकाले पर्यटन,कृषिलाई आय आर्जनको रुपमा विकास गर्न गाउँपालिकाले नीति तथा कार्यक्रममा समेट्ने उल्लेख छ । शिक्षा , खेलकुद,स्वास्थ्यको क्षेत्रलाई पनि विकास गर्न नीति र कार्यक्रममा प्राथमिकतामा राखिएको छ । हरेक नागरिकको जीवन स्तर उकास्नको लागि सचेतनाको आवश्यक परेको हुँदा लक्षित समुदायहरुलाई पनि शशक्तिकरण र स्वभलम्वी बनाउने कार्यक्रममा समेटिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोख्रेल, प्रदेश सांसद उपेन्द्र घिमिरे , विराट पर्यटन विकास समितिका अध्यक्ष डिल्ली शर्मा अधिकारी, नेपाली काँग्रेसका जिल्ला नेता दिलिप सापकोटाले नीति तथा कार्यक्रम प्रति टिप्पणी गर्दै सुझाव दिएका छन् । त्यसैगरी नेपाल कम्न्युनिष्ट पार्टीका टेकबहादुर लिम्बू, अपांग महासंघका राम कार्की, पार्टी प्रतिनिधि प्रकाश बस्नेतले पनि सुझाव राखेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ति लिम्बू भुजेलले स्वागत मन्तव्य राखेका थिए ।

गाउँसभामा उत्कृष्टहरुलाई सम्मान केराबारी गाउपालिकाले विद्यालय, शिक्षक, कर्मचारी लगायत उत्कृष्ट उपभोक्ता समितिलाई पनि सम्मान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु वल्लव बराल उत्कृष्ट कर्मचारी त्यसैगरी मुगु आधारभूत विद्यालयलाई उत्कृष्ट विद्यालय, चिउरी भञ्याङ ओख्रे सडक उपभोक्ता समितिलाई उत्कृष्ट उपभोक्ता समितिको मुल्यांकन गरि सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट शिक्षकहरुमा महादेव राजबंशी, वासुदेव पौडेल, शेखरनाथ बराल, चन्द्रप्रसाद भण्डारी, देवकुमार नेपाल, चुडा वोहोरा रहेका छन् । रञ्जना कार्की, इन्द्रवहादुर वस्नेत, अमरेन्द्र कुमार शाह, गोकर्ण पराजुलीलाई उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मान गरिएको छ । गाउसभाले विगत वर्षमा झै यसवर्षपनि वडापालिकाको लागि जग्गा दान गर्नुहुने जग्गादाताहरु दुर्गाप्रसाद भट्टराई, कृष्माकुमारी देवानलाई पनि सम्मान गरेको छ ।

जेफालेको हावाबाट विजुली निकाल्न सुझाव गाउँसभामा विशिष्ट अतिथिको रुपमा जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोखरेलले निकै लामो मन्तव्य राखे । उनले जेफालेमा २४ सै घण्टा हावा आईरहने भएको हुँदा हावाबाट विजुली निकाल्नका लागि नीति तथा कार्यक्रममा समेट्न सुझाव दिएका थिए । त्यसका लागि आफूले उर्जा मन्त्रालयमा समेत कुराकानी गरेको बताएका छन् । त्यसैगरी प्रदेश सरकारले ल्याएको बजेटमा शर्त सहित नहुनु पर्ने टिप्पणी गरेका थिए ।