धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर चिकित्सकहरुले २३ दिनदेखि अनसरत प्रा.डा. गोविन्द केसीका जीवन रक्षाको माग गर्दै विहीबार पनि सडकमा उत्रिएका छन् ।

चिकित्सा शिक्षा विद्येयकमा विगतमा भएका सहमति पूरा गर्दै इलामबाट अनसनमा बस्दादेखि नै समर्थनमा आन्दोलन थालेका उनीहरुले केसीको मागलाई लत्याएर सरकारले विद्येयक पास गरेकोप्रति आपत्तिसमेत जनाएका छन् ।

प्रतिष्ठानको जिओपिडी अगाडीदेखि निकालिएको ¥याली धरानको भानुचौकको लोकतान्त्रिक चौतारीमा आएर कोणसभामा परिणत भएको थियो ।

हातमा कालो पट्टी बाधेर विरोध जनाएका उनीहरुले अहिले दैनिक तीन घण्टा ओपिडीमा धर्ना बसेका छन् । केसीको मागलाई लत्याएर विद्येयक पास भएपछि भने उनीहरु आकस्मिक कक्ष बाहेकका सम्पूर्ण काम ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।
२३ दिन अनसनरत केसीको स्वास्थ्य स्थिति दिनप्रतिदिन बिग्रदै गएकोले केसीको माग सम्बोधन गर्नुपर्ने जुनियर रेजिमेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा कविराज पौडलले बताए । उनले केसीको मागलाई सरकारले वेवास्ता गरे प्रतिष्ठानका जुनियर चिकित्सकहरु आकस्मिक कक्षमा समेत काम छाड्ने डा. पौडलेले चेतावनी दिए ।