काठमाडौं / ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मध्ये ५ जनाको शव पहिचान हुन सकेको छैन् । पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै पहिचान भएको बताइएको छ ।

घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीको शव पूर्ण रुपमा जलेको छ । उनीहरुको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

विमानस्थलबाट सिधै शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोस्टमार्टमका लागि लागिएको छ ।  परिवारका सदस्यले शवको पहिचान गर्न नसकेको अवस्थामा शवको पहिचानका लागि डीएनए परीक्षण हुन सक्ने प्रहरीले जनाएको छ । डिएनए परिक्षण प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा हुनेछ ।

पर्यटनमन्त्री अधिकारीको शव पूर्ण रुपमा जलिनसकेको कारण पहिचान भएको थियो । उनको अंग रक्षकलाई लगाएको बुटबाट पहिचान गरिएको छ ।