धरान । धरान–५ स्थित कर्माचोकदेखि ठिङ्गाबारीसम्मको ३ सय ५० मिटर कालोपत्रे निर्माण शुरु भएको छ ।
शनिबार प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले सडकको शिलान्यास गरे । ३ सय ५० मिटरमध्ये एक सय ५० मिटर ढलान पिच गरिने संयुक्त मार्ग ढल तथा सडक निर्माण समितिका अध्यक्ष शुकबहादुर सम्बाहाम्फेले जानकारी दिए । यो सडक ठिङ्गाबारी हुँदै कन्यापोखरी पुगेर टुङ्गिन्छ । ६८ लाख ५८ हजार ५ सय १४ रुपैयाँको लागतमा निर्माण शुरु भएको पिच आउँदो जेठ ३० गतेसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।
लक्की कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ विल्र्डस झापाले ठेक्का प्राप्त गरेको छ । गत चैत १३ गते सम्झौता भएको हो । सांसद् क्षेत्र विकास कोषमार्फत् सभामुख भण्डारीले बजेट विनियोजन गरेको अध्यक्ष सम्बाहाम्फेले जानकारी दिए । भण्डारीले आगामी दिनमा पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता गरे । सडकको चौडाइ भने ३० फिटको छ ।