धरान / कोशी टप्पु बन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा रातारात एकसाथ ४४ वटा गाईगोरु मृत फेला परेका छन् । गाई गोरु मृत फेला परेको क्षेत्र बराहक्षेत्र नगरपालिका– ६ र ९ मा पर्ने श्रीलंका टप्पुमा पर्छ ।
बराहक्षेत्र नगरपालिकाका वडा अध्यक्ष दीपक लिम्बुले विहीबार विहान धेरै गाइबस्तु मृत फेला परेको बताए । उनले भने, ‘श्रीलङ्का टप्पुमा यसअघिपनि २६ वटा गाइबस्तु रक्तश्राव भएर मरेका थिए । तर किन कसरी मरे भनेर केही थाहा पाउन सकिएको छैन ।’
उनले विहीबार नै इनरुवाबाट जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली र भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाबाट पशुचिकित्सकको टोलीले अनुसन्धान गरेर फर्केको बताए । उनले भने, ‘गाइबस्तुको चरण क्षेत्रमा यसरी गाइबस्तु भकाभक मर्नु राम्रो संकेत होइन । चाडै कारण पत्ता लगाउनु पर्ने भयो ।’
गाईगोरु मृत फेला परेको ठाउमा पुगेका भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका चिकित्सक डा मनोजकुमार महतोेले २८ गाई र १६ गोरु गरी ४४ गाईगोरु मृत फेला परेको बताए । उनले भने, ‘मृत फेला परेका सवै गाइगोरुको नाक, कान, आंखा, मुख र मलद्धारबाट रक्तश्राव भएको पाइएको छ । लक्षणअनुसार एन्थ्रेक भन्ने सरुवा रोगले मरेको हुनसक्छ । तर ल्याव टेस्ट नगरी यहि रोगले मरेको भन्न सक्ने अवस्था छैन ।’
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयलले कोशी टप्पुको मध्यवर्ती क्षेत्रमा बासिन्दाले आफ्ना गाइबस्तु छाड्ने गरेकाले ककस्को गाई गोरुहुन धनी पत्ता लगाउन नसकिएको बताए ।