धरान /  सुकुम्बासी संस्थाको नाममा गैर कानूनी काम गरी सम्पत्ति कमाएर भ्रष्टाचार गरेको भन्दै नेपाल बसोबास बस्ती संरक्षण समाज धरानका सचिव सुवास राईविरुद्ध राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा उजुरी परेको छ ।
राष्ट्रिय सतर्कता केन्द्रमा पुस २३ गते दर्ता भएको उजुरीमा विभिन्न समयमा आर्थिक अनियमितता गरेको उल्लेख छ । धरान खानेपानी परियोजना(आइयुडिपी) को ३ लाख हिनामिना गरेको, ओरेक आवास परियोजनाबाट ३२ लाख हिनामिना गरेको, धरान उपमहानगर क्षेत्रभित्रका सुकुम्बासीको नाममा पानी, बिजुली जडान बापत ५० लाख हिनामिना गरेको उजुरीमा जनाइएको छ ।
धरान उपमहानगरपालिका भित्र रहेका ऐलानी, बाँझो जग्गा कब्जा गरी सुकुम्बासीलाई दिलाउने र त्यस बापतको मोटो कमिसन लिने गरेको उजुरीमा उल्लेख गरिएको छ । जग्गालाई ५–१० धुरको बनाई चलनचल्तीको मूल्यमा बिक्री गरी ५ प्रतिशत संस्थालाई भन्दै व्यक्तिगतरूपमा लिँदै आएको उजुरीमा उल्लेख छ ।
प्रत्येक सुकुम्बासीबाट वार्षिक लेबी लिने गरे पनि हिसाबकिताब भने नराखेको पनि आरोप लागेको छ । उजुरी दिने व्यक्तिको नाम भने गोप्य राखिएको छ । राई नेपाली काङ्ग्रेससँग आबद्ध सुकुम्बासी नेता हुन् । कुनै व्यापार–व्यवसाय नभए पनि धरान–१३ मा उनको १ करोड मूल्य पर्ने घर, १६ लाखको भ्यान, बुलेट बाइक, स्कुटी, धरानका विभिन्न स्थानमा घडेरी, झापा र मोरङमा खेती रहेको उजुरीमा उल्लेख छ । उजुरीमा संस्थाको नाममा गैरकानूनी काम तथा भ्रष्टाचार गर्ने कार्य गरेकोले छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।
उजुरी केन्द्रमा परेपछि केन्द्रका शाखा अधिकृत राजेन्द्रप्रसाद पोखरेलले धरान उपमहानगरपालिकालाई माघ ७ गते नै आवश्यक छानबिन गरी राय पठाउनलाई पत्राचार गरेका थिए । १५ दिनभित्र छानबिन गरी राय पठाउन उपमहानगरलाई पत्र पठाउने निर्णय केन्द्रले पुस २७ गते गरेको थियो । तर हालसम्म उपमहानगरपालिकाले छानबिन गरी राय पठाएको छैन ।
राई धरान–१३ का भएकाले उक्त उजुरीका विषयमा अनुसन्धान गर्न १३ नं. वडाका सचिव सागर बस्नेतलाई अनुसन्धान अधिकृत बनाएर पठाएको थियो । फागन १४ मा पत्र दर्ता गरी वडामा पठाएको थियो । विभिन्न आर्थिक अनियमितताका विषय भएका कारण वडा कार्यालयले उक्त पत्र उपमहानगरपालिकालाई नै छानबिन गर्न एक साता अघि फिर्ता पठाएको वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिए ।
उक्त विषयको पत्र हाल मेयर तिलक राईसमक्ष पेश गरिएको तर छानबिनका लागि कुनै निर्देशन जारी नभएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । यस विषयमा आरोपी राईले भने आरोपहरू अस्वीकार गरेका छन् । आफूले कुनै अनियमितता नगरेको बताउँदै आफूसँग कुनै सम्पत्ति भएको प्रमाणित भए सरकारलाई त्यति नै बेला बुझाउने बताए ।
जग्गाबाट नाफा खाएको विषयमा भने किन्ने र बेच्ने खुशी भएर दिएको आफूले लिएको बताए । केन्द्रलाई बुझाएको उजुरीमा उल्लेख गरिएका सबै कुरा सत्य नभएको उनले बताएका छन् । आफूले संस्थाको नाम कहीँ नभजाएको प्रष्ट पारेका छन् । सुकुम्बासीका लागि अस्पताल निर्माणमा उठाइएको रकम संस्थाको वाणिज्य बैङ्कस्थित खातामा दुई लाख रहेको उनले सुनाए ।