मधुमल्ला /  मोरङको उर्लाबारी, मधुमल्ला क्षेत्रमा सञ्चालित केही मेडिकलहरुले चिकित्सकको प्रेस्किप्सनको आधारमा मात्र बिक्री गर्न मिल्ने लागु औषध मानिएका औषधि दुव्र्यसनमा लाग्नेहरुले खुलेआम किन्ने गरेको पाइएको छ ।
दुव्र्यसनीहरुलाई मेडिकलहरुले महँगो रकम लिएर यस्ता औषधि बिक्री गर्ने गरेको पाइएको हो । विभिन्न रोगको उपचारमा प्रयोग हुने क्ल्योरफेनिरामिन डाइजापाम, लोहोराजेपाम, नाइट्रोसन, टिडिजेसिक, ओपीडोल, स्पास्पेन, एप्काडोलजस्ता औषधि र सिरिन्ज लागु औषधको रूपमा प्रयोग गर्नेहरु धेरै छन् । केही मेडिकलले बढी रकम लिएर मोटरसाकइलमार्फत ल्याइदिने गरेको एक युवाले नाम नबताउने सर्तमा बताए । लागु औषधको रुपमा प्रयोग हुने औषधि पु¥याउन जाने क्रममा मेडिकल सञ्चालक पटक पटक लुटिए पनि घटना सार्वजनिक भएको ती युवा बताउछन् ।
लामो समयसम्म निद्रा लगाउने, लट्ठ बनाउने औषधिलाई दुव्र्यसनीहरुले लागुऔषधका रूपमा प्रयोग गर्ने गरेको र चिकित्सकको प्रेस्किप्सन बिना लागु औषध प्रयोगकर्ताहरुलाई नबेच्न उर्लाबारीका मेडिकलका सञ्चालकलाई सचेत गराइएको राष्ट्रिय युवा संघ उर्लाबारीका सह–संयोजक योगेश बस्नेतले जानकारी दिए । केही मेडिकलहरुले बढी मुनाफा कमाउने उद्देश्यले युवाहरुलाई अन्धकारतर्फ धकल्ने काम गरेको बस्नेत बताउछन् । मेडिकलहरुमा सहजै उपलब्ध हुने औषधिहरुको कम्पोजिन मिलाएर लागुऔषधको रुपमा प्रयोग गर्ने नेपाली युवा जमातहरु बढ्दो छ । त्यसैले यसको नियन्त्रणका लागि मेडिकलहरुले विक्री वितरण गर्ने औषधिमा कडा निरानी र अनुगमन गर्न आवश्यक रहेको उर्लाबारी वडा नं. ७ का सदस्य निरोज तिम्सिना बताउछन् । यता प्रहरीले भने चिकित्सकको प्रेस्किप्सन बिना औषधि बेच्नेलाई कानून बमोजिम कार्वाही हुने बताउदैं आएको छ ।