हामी हल्लामा दौडिने र समस्यामा गम्भीर नहुने बरु ठट्टामा रमाउने भनेर आलोचित छौं, सबैजसो हाम्रै समाजमा । कोबिड नाइन्टिन भनेर न्वारान गरिएकी भए पनि चीनमा जन्मिएर महामारीका रुपमा संसरका सबैजसो देशमा भ्रमण गरिसकेकी यमराजकी भाञ्जी कोरोनाले आज हामी सबैलाई तर्साएकी छिन् । सरकारले विद्यालय, विश्वविद्यालय, भेला, बैठक, सम्मेलनजस्ता समूहगत संरचना भएका सबैजसो संस्थाहरु बन्द गरिसकेको छ । हामी सुरक्षित रहेर दुनियाँबाट चाँडै कोरोना बिदा भएको समाचारको प्रतीक्षामा छौं ।
यस्तो विषम अवस्थामा मास्क, स्यानिटाइजरलगायतका सुरक्षणका साधनहरुमा कालोबजारीका खबरले जनता दुःखी छन् । हल्लाबाजहरु संसार नै खत्तम हुने भय बाँडेर दुनियाँलाई ठगिरहेछन् । नागरिक सचेतनताका लागि र पूर्वसावधानीका लागि सरकारले एसईईको परीक्षालगायत लोकसेवा र विश्वविद्यालयका कार्यक्रमहरु स्थगित गर्नुलाई पनि कतिपयले हल्ला र खिसिट्युरीकै विषय बनाइरहेका छन् । कतिपय मानिसहरु जनतालाई अत्यास बाँड्न उद्यत पनि देखिन्छन् ।
चीन, जहाँबाट कोरानाको महामारी शुरु भएको हो, विस्तारै सहज जीवनतिर जाँदैछ भने बाँकी विश्व आहत बनिरहेछ । युरोपेली जनता अहिले निकै पीडामा छन् । संसार भयाक्रान्त छ साँच्चै । मानिस आज खानपान र रहनसहनको विशृङ्खलाको अतिरिक्त दण्ड चुकाइरहेको छ । मानवीय विसङ्गत जीवनशैलीकै कारण प्राकृतिक विद्रूपताका सिकार बन्दैछौं हामी ।
नेपाली समाज अधिकतर अभावमा हुर्किएकाहरुको समाज हो । हाम्रो शारीरिक सहनक्षमता अल्लि बढी नै छ । यद्यपि कुनै पनि महामारीले वर्ग, लिङ्ग र समुदायविशेष भनेर किन रोजीछाडी गथ्र्यो र ! हाम्रो लापर्वाहीपूर्ण जीवनशैली र गम्भीर नहुने बानीकै कारण हैँजा हामीसम्म आइपुग्ने हो । यसनिम्ति सरकारी कदमको पालना र सरकारको तर्फबाट गरिने विज्ञप्तिकै मात्र कडाइ पनि कारक बन्न सक्छन् । भारतीय सिमानामा निर्वाध आउजाउ कायम रहुन्जेल, बजार र भीडभाडमा मानिसहरु जान नछाडुन्जेल, नपरी नचेत्ने नेपाली प्रवृत्तिमा सुधार नआउन्जेल जतिसुकै सतर्क बनिरहे पनि हामी मारमा पर्ने निश्चित छ । यो हाम्रो चेतनाको स्तर जाँच गर्ने समय पनि हो । रक्सी पिउँदा र जिउमा दल्दा कोरोना नसर्ने हल्ला र देवीदेउताको पूजाआजा गरेर महामारी शान्त हुने अन्धविश्वास एउटै मूर्खपनका दुई सन्तान मात्र हुन् । बरु सफा बस्ने, सफा र सादा खाना खाने, भीडबाट जोगिने, लुसुलुसु देशभित्र र बाहिर कुदिरहने सुलसुलेहरुबाट जोगिने र अन्य सुरक्षाका व्यावहारिक तथा वैज्ञानिक उपायहरु अपनाउने हो भने हामी सजिलै जित्नेछौं कोरोनालाई ।
कोरोनाको कहर ः कलमको खबर
कलम कहिल्यै सुत्दैन । देश दुख्दा दुख्छ सँगै । जनतासँगै रुन्छ पनि । तर, कलमका पनि रङ हुन्छन्, काला र पँहेला कलमहरु निदाउलान् अरु कलम चौबिसै घन्टा जनता, देश र परिवेशका खबरमाथि खबरदारी गरिरहन्छन् ।  आजको सन्दर्भमा नेपाली कविहरुले सामाजिक सञ्जालका माध्यमले गरेका सिर्जनाका माध्यमबाट कोरोनाबाट बच्ने उपाय र अन्य कतिपय भावनात्मक सम्प्रेषणका प्रतिनिधिमूलक रचनाहरु प्रस्तुत गरौं,
स्थापित कवि तथा नेपाल बैङ्क लिमिटेडका अध्यक्षसमेत रहेका स्रष्टा वासुदेव अधिकारी कोरोनासित प्रश्न गर्दै यसबाट बच्ने पूर्वसावधानीबारे भन्छन् ः
‘हात धोइरहन्छु
कसरी सर्छौ ?
भीडभाडमा जान्नँ
कसरी भेट्छौ ?
परे मास्क लगाउँछु
कसरी सङ्क्रमित हुन्छौ ?
बासी खान्न
कसरी प्रकट हुन्छौ ?
मेरो सजगता
अवसान हो तिम्रो
जीवन हो मेरो
आपसी सद्भाव
प्राण हो नेपालीहरुको ।’
पिण्डेश्वर विद्यापीठका सहप्राध्यापक कवि सागर सुवेदीको यो खबरदारी कति स्वादिलो छ नि !
‘डेङ्गु मच्छडको त्रास सूचनासाथ आउँछ
कोरोना नामको व्याधि सारा विश्व चपाउँछ
किन हो देशमा आधि,व्याधि सन्त्रास आउँछन्
यस्तैमा भ्रष्ट जीवाणु पेटभरमा रमाउँछन्
सूचना, चेतनासाथ गरी सेवन ओखती
धपाऊँ कोरोना व्याधि भागोस् कायल भैकन ।’
यसैगरी दमकका कवि विन्दु दाहाल मूकदर्शक कोरोनाकै कारण कमसेकम नेपाली अभिवादनको संस्कृतिले विश्वभरि सम्मान पाएकामा दङ्ग हुँदै हाम्रो नमस्कार हो शीर्षक कवितामा भन्छन् ः
‘भो भो हात मिलाउने नि नगरौँ मेरो बहिष्कार छ
राम्रो होइन यो प्रथा चलन हा ! मेरो तिरष्कार छ
सर्छन् रोग अनेक जात थरिका यस्तो सदाचारमा
कोरोनो पनि सर्न सक्छ बुझियो लौ है दुराचारमा ।
हो, पूर्वीय परम्परा मुलुकको बुझ्दा छ संस्कार जो
टाढैबाट गरौँ सबै मनुजले हाम्रो नमस्कार हो
हुन्छन् हात कुनै लुतो र खुजुली या दादले ती भरी
हाम्रो हात मिलाउँदा सहजले हुन्छन् कि पेवा सरि
...
अर्काका कपडा रुमाल पनि ती जुत्ता नलाऔँ कुनै
आओस् हार्दिकता क्रिया वचनले पर्दैन मान्छे छुनै
केही मुस्किल छैन गर्न यसरी सद्भाव झल्काउँन
भो भो हात मिलाउने नि नगरौँ ती रोग सल्काउन ।’
धरानका कवि मचिन्द्र खत्रीको चिन्ता पनि हामीसँग मिल्दो नै छ । उनी कोरोनाको कैदी शीर्षकमा भन्छन् ः
‘संसार मात्र एउटा झ्यालखाना
सबैलाई जगेडैकै छ सामूहिक रुपमा
हुकुमत तानाशाही कोरोनाको ।
...
भयावह भन्दा अफवाह बढेको छ
डर, त्रासको होहल्ला दिनानुदिन
सायद यो कार्य कोरोनाको अभियान हो ।
न हलचल छ मानिसको
न चलखेल छ मानिसको
बन्दीगृहमा त्राशपुर्ण बाँच्न बाध्य ।
बबुरो निरीह मानिस
आज बाध्यछ कठघराभित्र
कोरोनाको जन्जीरमा।
कसैलाई आफ्नो घर आउन बन्देज छ
कसैलाई आफ्नोघर जान बन्देज छ
त्यसैले संसार एउटा झ्यालखाना अनि
मानिस झ्यालखाना भित्रको कोरोनाको कैदी ।’
यस्तै भक्तपुरबाट चर्चित कवि तथा रेडियोकर्मी रामगोपाल आशुतोष ‘देशको नक्सा ः केही थान समाचार शीर्षक र कोरोना’ नाम दिएर कोरोनामा करोड कमाइहाल्ने दुष्ट सोचाइको भन्डाफोर गर्दै जनताका पीडा, सरकारी उदासीनता र हाम्रो प्रवृत्तिमाथि लाठो लाउँदै भन्छन् ः
‘आँसुको मूल्य कसैले बुझेनन्  
यसरी
मुस्कानको बजारभाउ घट्दै, घट्दै, घट्दै गयो
थोक र खुद्रा व्यापारीहरुले
खुशीको मूल्यसूचिबाट
देशको नक्सा र जनताको तस्बिर हटाइदियो
....
सरकार (कोरोनाको त्रास बिछ्याएर
व्यापारीको मनोबललाई दीर्घ राष्ट्रसेवक पदक दिइरहेको छ ।’
चर्चित स्रष्टा प्रतीक ढकाल कोरोना–भय र सुरक्षणका उपायलाई यसरी चिन्तनको लहरमा राख्छन् ः
‘सोलिच्यूड अर्थात् ऐकान्तिकता ! आइसोलेसन अर्थात्
ऐकान्तिकता !!
जिन्दगीको अन्तिम सत्य अर्थात् एक्ला चलो रे !!!’
कोरोनाबारे सचेतनाकै लागि साहित्यकारहरुले कमलम चलाएका छन् भिन्नभिन्न विधाहरुमा । खास गरी कविता, मुक्तक र हाइकुमा देखिन्छ यो सचेतताको प्रयत्न ।
स्रष्टा गङ्गा दाहालको मुक्तकिलो प्रस्ताव कत्ति उपयोगी छ, पढ्नुस् त ः
‘जे हुनुछ त्यो भएरै छोड्छ डराउनु किन
सन्त्रासले  घोची  मनलाई  हराउनु किन
उच्च मनोबलका साथ अपनाऊ सतर्कता
ब्यर्थै फैलिएर अन्योलमा लहराउनु किन ??’
यसैगरी मुक्तककार  लक्ष्मीनारायण जोशी लेख्छन् ः                    
‘नेपालमा कोरोना भाइरस आउँदैन
नेपालमा धनी देश छाडेर धाउँदैन ।
निर्धो जनता देशमा, बलिया विदेशमा,                          
नेपालमा यहाँ केही पनि त पाउँदैन ।’
झापाका कवि त्रिलोचन भण्डारी कोरोनाबाट सचेत रहन प्रेरणामूलक सन्देश दिन्छन् ः
‘बाजा बजाई दशा यहाँ आउँदैन साथी !
विनाकारण महामारी फैलाउँदैन साथी !
बेला छँदै होसियारी अपनाएको राम्रो,
बितिहाले यो जिन्दगी पाइँदैन साथी !’
कृष्णप्रसाद भण्डारीको हाइकु पनि हामीलाई सचेत बनाउँछ, यसरी ः
‘स्वास्थ्य नै धन
सावधानी जरुरी
विषाणुबाट !’
यस्तै मुनाल पोख्रेल हाइकुबाटै सेल्फ क्वारेन्टाइन र लकडाउनको अवस्थामा आतङ्कित मनको आवाज खोल्छन् ः
‘शहरभित्र
उकुसमुकुस छु
कस्तो सन्तुष्ट ?’
जनसाहित्य लेखक सङ्घ, नेपालका केन्द्रीय सदस्य स्रष्टा डा.खेमराज खनाल सरकारी कार्यवाहीले कोरोना तह लाग्ने विश्वास गर्दे हाइकुमै बोल्छन् ः
‘कोरोना डर
प्रभावित नेपाल
कडा कदम ।’
झापाका अब्बल कवि मुनाराज शेर्मा कविताको भाषाभन्दा बोलीकै भाषामा कुरा बुझाउन खोज्दै छन्, किनभने आगलागीपछि रुनुको विकल्प रहने छैन । शिष्ट कवि शेर्मा किन गुनासो गरिरहेछन् सरोकारवालाहरूको ध्यान आकर्षित होस् ः
‘राज्यले खेँलाची ग¥यो । राम्रो तयारी
गरेन । समय अझै छ ।
आइसोलेसन झापामा छैन ।
सेनीटाइजर उपलब्ध छैन ।
भारतको बिहारमा कोरोना प्रभावित ।
भारत नेपालको सिमाना सिल छैन ।
यो देशको जब्बरहरुले गर्नु गरे ।’
कोरोनाको आतङ्कमिश्रित स्रष्टा टीका शर्माको आक्रोशमै पनि देशको माया छ, हेर्नुस् त ः
‘कल्याणकारी यदि राज्य छैन ।
हसुर्छ मात्रै दिन तम्सिँदैन ।।
तर्साउँदै हर्दम राज्य गर्छ ।
नाघेर सीमा कुहिएर झर्छ ।।’
महाकवि चन्द्रप्रसाद न्यौपाने भीडबाट जोगिने सन्दर्भमा मुक्तकमा व्यङ्यात्मक रुपमा यसरी प्रस्तुत हुन्छन् ः
आजैमात्र थाहा भयो पच्चीससम्म त ठीक ठीकै हो
यति सम्मको भीडभाडमा बस्नु त निको निकै हो
माथिल्लै निकायबाट आएको सुझाव मनन गर्दै यो
मेन्जो मैले पनि  सुनेर लेखेको सिको सिकै हो ।’
रमाइलो शैलीमा डा. गुरुप्रसाद सुवेदीले पनि अल्लि हल्का रुपमै लिन खोजेको देखिन्छ, तर उनको आशय चाहिँ सुरक्षित हुनु नै हो ः  
‘कोरोनी भन्छ छोरोले गोरो भन्छ कुईरिने
को हो त कोरिना छोरो, मोरो भन्छस् खुइलिने ?
आजकाल धमाका छन् कोरोना कोरिनासँग
हेर्नाेस् छोरो नि, गोरो नि, ताँती भा’ छन् धुइरिने ।’
स्रष्टा शोभा काफ्ले खतिवडा कोरोना केयर गरौँ न भन्दै हामी सबैलाई सचेत बनाउँछिन् ः
‘सुतेको छ दुनियाँ सुताउने कोरोना !
ऊ भन्दा नि बलिया हामी सबै बनौ न !!
उठाऊँ मिलेर देश सारा हामी दुनियाँ !
यो विश्व जगत्को रक्षा हामी गरौँ न !!
सरकारलाई  साथ हामी पनि दिऊन् !
एक्लै त हुन्न यो समस्या समाधान !’
छामेर कुद्ने गरौँ ! भन्ने कवि नारायणप्रसाद पौडेलको खबरदारी निकै मार्मिक लाग्छ, हाम्रो हल्लैहल्लाको माहोलमा,
‘व्याधा रोग  रहेछ  कृत्रिम नयाँ  आतङ्क फैलाउँछ
हल्ला  व्यर्थ  गरेर  त्रास  जनको  संसार वैलाउँछ
आफैँ  बन्नु  सतर्क  तर्क  मनले  गर्दैछ  बुझ्ने  गरौँ
आयो काग लग्यो कि कान करले छामेर कुद्ने गरौँ ।।’
स्रष्टा रमेशकुमार केसीको मुक्तकले मीठो चट्कन लाएको पनि सरकारलाई जनताप्रति अझै दायित्व सम्झाउन त हो,  
‘कसैको होस् नहोस् साथ, देश चल्छ ।
आराम होस् नहोस् गाथ, देश चल्छ ।।
सरकार  होस्    नहोस्   फरक पर्दैन
छँदैछन्   पशुपतिनाथ, देश चल्छ ।।’
राप्ती, घोराहीका स्रष्टा दीपबहादुर खत्री कोरोना भाइरस शीर्षकमा कोरोना महामारीबाट बच्नका लागि सरल उपायहरु लयदार रुपमा शब्दमा उनेर प्रस्तुत गर्छन् ः
‘फैलिन थाल्यो महामारी कोरोनाको रुपमा,
बस्ने गरौं मास्क लगाई दिउंसोको धूपमा ।
घाँटी दुख्ने, खोकी लाग्ने, ज्वरो पनि आउने,
यस्तो लक्षण देखिएमा स्वास्थ्य चौकी धाउने ।
उमालेको पानी पिउने, गरम खाना खाने,
मेला–पर्व भीडभाडको सभामा नजाने ।
बन्द गरौ सिमानाका आवत जावत गर्नलाई,
सजक र सतर्क होउ भूल नगरौ साथीभाइ ।
सानो हाम्रो भूलले गर्दा धनजनको क्षति होला,
खानपिनमा ध्यान देऔं मुखमा लगाऔं मोला ।
हात मिलाउन, अङ्कमाल गर्न बहिष्कार गरौं भाइ,
टाढैबाट अभिवादन गरौं आफन्त जनलाई ।’
भाषा  त माध्यम मात्रै न हो । नेपाली स्रष्टाहरुले त हिन्दीमै पनि कोरोनाबाट सचेत रहन आग्रह गरिरहेका छन् । विराटनगरबाट स्रष्टा लक्ष्मणकुमार नेवटिया कोरोना है दावानल शीर्षकमा भन्छन् ः
‘कोरोना है दावानल ,
सावधानी अभी कि अभी
( नहीं कल
दूर रहो भीडसे, छुओ ना
हर तलको (हरपल।
चेहरे को न छुना
और न मिलाना हाथ।
साबुनपानी
मास्कका रखो साथ।
छिंक पर रुमाल
है निज स्वार्थ।
एक मिटर कि दूरी
रखना पुरुषार्थ ।
कोरोना से बचने
इतना तो इसी वक्त
कर ही लो ना,
स्थिती की गम्भीरता का
समझलो सत्यार्थ,
हे मेरे प्रिय पार्थ !’
अन्त्यमा
माथि मैले तत्काल सञ्जालमा आँखा पुग्दा टिपेका रचना मात्रै उठाएको हुँ । सयौं स्रष्टाहरुले कोरोना महामारीमाथि भरमार लेखिसकेका छन् र अरु लेखिरहेका पनि छन् । हाम्रा स्रष्टाहरुका समष्टि सन्देशको सार भने एउटै देखिन्छ ः ठट्टा नगर । सचेत बन । र सबैलाई सचेत बनाऊ । ए सरकार, तिमी जनतालाई नअत्याइकन पूर्वतयारीमा जुटिराख, तर कोरोनालाई कमाउने हतियार बनाउनबाट रोक । सङ्कटमा साथी, अभिभावक, प्रेमी, छिमेकी र आफन्त मात्र हैन सरकार पनि चिनिन्छ नि !
हो, हामी जोखिमबाट पटक्कै मुक्त छैनौं । सरकारले आफू सक्रिय रहेर अरबौंको क्षति व्यहोरेरै पनि संस्थागत रुपमा आवतजावत, भीड, बजारको रौनक, परीक्षा, कक्षा आदि सबै रोकेर शान्त बनाएको जनताकै लागि हो भन्ने बुझ्नुपर्छ । माथि हाम्रा सचेत कलमबाजहरुले भनेजस्तै गरौं । बरु अध्ययन र लेखनमा जुटौं । सिर्जनशील रुपमा यो शून्यताको भरमार उपयोग गरौं । परन्तु सधैं सचेत रहौं ः कोरोनाको कहर जो काट्नैछ हामी नेपालीले पनि ।