पथरीशनिश्चरे / राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगर कमिटीले वडा नम्वर १ स्थित पथरी बजारका ३ सय १७ ज्यालादारी मजदुरका परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ ।

नेकपा १ नम्वर वडा कमिटीको सहकार्यमा मजदुरको पहिचान गरी कोरोना संक्रमणले लकडाउन हुँदा समस्यामा परेका मजदुरहरुलाई प्रति परिवार चामल साढे १२ केजी, नून १ केजी र तेल १ पोका वितरण गरिएको छ ।

‘युवाहरुको संगठन राष्ट्रको सान, जनताको लागि चलाउदैछ जनभियान’ नाराका साथ संघका केन्द्रीय सदस्य बिजय डाँगी, जिल्ला सदस्य मणि लिम्बु, नगर संयोजक सुमन वनेम, सहसंयोजक नवीनजंग कार्की, नेकपा नगर कमिटी सदस्य तथा १ नम्बर वडा कमिटी अध्यक्ष भिम राई सहितको अगुवाईमा आइतवार साँझ राहत वितरण भएको हो ।

राहत वितरण पूर्व साबुनपानीले हात धोएर सेनिटराइज प्रयोग गरिसकेपछि दुरी कायम गरिएको थियो । नगरपालिका भित्र कसैलाई भोकै मर्न नदिने र त्यसको लागि नगरपालिकाको पनि ध्यानाकर्षण गराएको संघका नगर सहसंयोजक नविनजङ कार्कीले बताए । उनले नगरका १० वटै वडामा खाद्यान्न वितरणका लागि राहत संकलन कार्यमा लागिरहेको पनि उल्लेख गरे ।

 

साबुनपानी र सेनिटराइजको अनिवार्य प्रयोग गर्न आव्हान....

कोरोना भाइरसबाट वच्न अत्यावश्यक खाद्यान्न किन्ने ग्राहककालागि हात धुन साबुनपानी र सेनिटराइज राख्नुपर्ने र पसलेले पनि ग्लोब र सेनिटराइजको प्रयोग गर्न मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले आग्रह गरेको छ ।

संघीय सरकारको निर्णय अनुरुप पथरीशनिश्चरे नगरपालिकाको कार्यालय, पथरी उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालय पथरीले पनि आइतवार संयुक्त सूचना जारी गर्दै विहान ७ देखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक खाद्यान्न र सब्जी पसल खोल्ने समय निर्धारण गरेको छ । सो समयमा अझ बढी सावधानी अपनाउनु पर्ने भएकाले पहिले आफ्नो पसल अगाडि ग्राहकलाइ साबुनपानीले हात धुन लगाएर सेनिटराइज प्रयोग गराउनु पर्ने र पसलेले पनि ग्लोब र सेनिटराइजको प्रयोग अनिवार्य गर्नुपर्ने नगरप्रमुख दिलीपकुमार राइले जनाए । आइतबार बेलुकादेखि नगरका खाद्यान्नका केही पसल र सागसब्जीका केही पसल खुलेका थिए ।

अत्यावश्यकीय सामान खरिद गर्दा कम्तिमा २ मिटरको दुरीमा रहेर बालबालिका र ज्येष्ठ बाहेकका घरको १ जनामात्र सहभागि हुनुपर्ने कुरा उल्लेख गरिएको छ ।

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सवैले घरभित्र बसेर सहयोग पुर्याउन समेत अनुरोध गरिएको छ । आफुपनि बाँचौं र अरुलाई पनि बचाऔं भन्ने मुल मर्मलाई ध्यानमा दिएर सवै आआफ्नो ठाउँबाट लागिपर्नुपर्ने कुरामा नगरपालिकाले बारम्बार अनुरोध गरिरहेको छ ।

यसक्रममा, नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालय पथरीले दैनिक अनुगमन् गरिरहेको छ । गर्दै अत्यावश्यक काममा बाहेक बाहिर ननिस्किन नगरवासीलाइ अनुरोध गर्दै गरिएको आइतबारको अनुगमन्मा भित्री वस्तीहरुमा अनाहकमा हिडहुल गर्ने, भेलाभएर क्यारेमबोर्ड, लुँडो लेख्नेहरुलाई चेतावनी दिँदै खेल वन्द गराइएको छ । अनुगमन गरिरहेको छ । पथरी उद्योग वाणिज्य संघसँगको सहकार्यमा खाद्यान्नको सहज उपलब्धताको अनुगमन् गरिरहेको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाइन् ।

पथरीशनिश्चरेबाट विदेश गएर २ साताभित्र आएका हालसम्म १० जनालाई मिक्लाजुंगको टाँडीमा रहेको क्वारेन्टाइनमा पठाइएको छ । तर त्यहाँको क्वारेन्टाइनमा एउटै साबुनको प्रयोग गराइएको तथा व्यवस्थित रुपमा राख्ने काममा कमिकमजोरी भएको पनि क्वारेन्टाइनमा वस्नेहरुका आफन्तले गुनासो गरेका छन् । पथरी नगर अस्पतालमा पनि नगरपालिकाले कोरोना संक्रमित हुनसक्नेका लागि १० बेडको आइसोलेसन तयार गरेको छ । तर हालसम्म त्यहाँ कोही पनि विरामी आएका छैनन् ।