धरान / धरान–११ की आशा राई बिहान भूइँमा उज्यालो नखस्दै धरान–१८ स्थित डिपोट उच्चमाविको बास्केटबल मैदानमा भेटिन्छिन् । साढे सात बजेसम्म बास्केटबल अभ्यास गर्छिन् । ८ बजेपछि उनी बिरामीको उपचारमा लाग्छिन् ।
२४ वर्षीया यी ठिटी बास्केटबलकी राष्ट्रिय खेलाडी हुन् । बास्केटबलसँगै उनी दाँत बनाउने डाक्टर पनि हुन् । होचो कदकी आशाको परिचय बास्केटबलकी कुशल खेलाडीसँगै नामको अगाडि डाक्टर पनि जोडिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिडिएस पास गरेर हाल उनी इन्टर्नसिप गरिरहेकी छन् । अबको दुई महिनापछि उनी कुनै अस्पतालको डेन्टिस्टको रूपमा भेटिनेछिन् । डा. आशा अर्थात् बास्केटबलकी उदीयमान खेलाडी उनले ३५ वर्षे इतिहास बोकेको दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा पहिलो डाक्टर खेलाडीका रूपमा सहभागी भई रजत पदक दिलाउन भूमिका निर्वाह गरिन् । उनी धरानबाट राष्ट्रिय टिममा पर्ने पहिलो महिला खेलाडी पनि हुन् । विराटनगरको कोशी अस्पतालमा इन्टर्नसिप गरिरहेकी डा. आशा बीचैमा काम छाडेर राष्ट्रिय टिमको क्लोज क्याम्पमा सहभागी भइन् । धरानमै बास्केटबलको क्लोज क्याम्प भएको हुँदा अझ उनलाई सजिलो भयो । विराटनगरमा भएको सातौं र नेपालगञ्जमा गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ बाट महिला टिममा उत्कृष्ट खेल देखाएकी आशाले राष्ट्रिय टिममा भाग लिएर सागमा आफ्नो कुशलता देखाउने वाचा गरेकी थिइन् । नभन्दै उनलाई भाग्यले साथ थिइयो । टिममा पर्न सफल भइन् । रजत पदक दिलाउन उनले व्यक्तिगत गरेको स्कोर सहयोगी बन्यो ।
धरानको दिल्ली पब्लिक उच्चमाविमा विज्ञान विषयमा कक्षा १२ मा पढ्दै गर्दा साथीहरूको लहलहैमा उनले बास्केटबल खेल्न शुरु गरेकी थिइन् । शिक्षकले प्रदेश १ का बास्केटबल प्रशिक्षक विकास राईलाई भेटाइदिएपछि खेलतिर उनी अझ सक्रिय भएकी थिइन् । मेडिकल कलेजस्तरीय साइन्याम्प २०१५ मा बीपी प्रतिष्ठानको टिमबाट सिल्भर मेडल दिलाउन सफल भइन् । २०१७ र २०१९ मा गोल्ड मेडल जिताउन सफल भइन् । ‘क्षेत्रीय र राष्ट्रिय धेरै खेलहरूमा भाग लिएको छु । मेडल र प्रमाण–पत्र घरमा निकै भएका छन्’ डा. आशाले भनिन्, ‘अब बास्केटबल मेरो लागि र बास्केटबलका लागि म अपरिहार्य भएको छु । मेरो डाक्टरी पेशासँगै यो खेललाई निरन्तरता दिन्छु ।’ डेण्टल चिकित्सा विषयमा उनले स्नातकोत्तरको तयारी पनि थालेकी छन् ।
पछिल्लो समय राज्यले खेलाडीहरूलाई दिएको सम्मान र पुरस्कारले उनी अझ उत्साहित भएकी छन् । आमाबुबाले पढाइ बिग्रिन्छ, नखेल्नू भन्दा पनि अटेर गरेर बास्केटबलमा राम्रो कुशलता हासिल गरेकी डा.आशाले बाबु राजकुमार र आमा भगवतीलाई पनि चकित बनाएकी छन् । सानैदेखि डाक्टर बन्ने सोच बनाएकी डा. आशाले मेडल, पुरस्कार ल्याएर आमालाई बुझाउँदा आमा भगवतीसमेत मख्ख परेकी छन् । बाबु राजकुमार भारतीय सेनाका भूपू हवल्दार हुन् । सामान्य परिवारकी डा. आशालाई परिवारको हौसला मिल्दा आफ्नो डाक्टरी अध्ययन र बास्केटबल खेल दुवैलाई हाँक्न सजिलो भएको बताउँछिन् । भारतीय सेनाबाट पेन्सन पकाएका राजकुमार यिनै छोरीको उज्वल भविष्यका लागि भारतीय भूमिमा अझै सेक्युरिटी गार्डको काम गरिरहेका छन् । त्यही भएर साग खेलको सफलता र उनले खेलमा गरेको व्यक्तिगत स्कोरमा आफ्ना बाबुलाई मिस गरेकी छन् ।
साग खेलमा गौरिकाले नेपालको खेल इतिहासमा एकै पटक चार स्वर्ण जितेर रेकर्ड बनाएजस्तै डाक्टरी पेशामा रहेकी आशा पनि इतिहास बनाउने दाउमा छिन् । डाक्टर खेलाडीको रूपमा अन्तर्राष्ट्रियस्तरमा चिनिने उनको लक्ष्य छ । इच्छाशक्ति र समयको व्यवस्थापन गर्न सके जे सुकै काममा सफलता हासिल गर्न सकिने उनी बताउँछिन् । ‘मैल मेरो इच्छाशक्ति र समयको व्यवस्थापनबाट दुवै क्षेत्रमा सफलता पाएकी छु’–उनले भनिन् ।
नेपाललाई बास्केटबलमा सिल्भर पदक दिलाउन सफल डा. आशालाई धरान उपमहानगरपालिकाले उसको ५१ औं वार्षिक उत्सवमा सम्मानस्वरूप नगरपरिक्रमा गराएको थियो । सँगै नगद ३५ हजारसमेत थमाउँदा उनले अब खेलाडीहरूको पनि दिन आएछ भन्ने सम्झेकी थिइन् । उनलाई धरान–११ को टोल समिति, किरात राई यायोक्खा धरान र सुनसरी बास्केटबल सङ्घलेसमेत सम्मान तथा पुरस्कार प्रदान गरेको छ । यसले आफूलाई थप हौसला प्रदान गरेको उनी बताउँछिन् ।