धरान / भारतसँग सिमाना जोडिएको सुनसरीको हरिनगरा गाउँपालिका–७ घेस्कीमा सशस्त्र प्रहरी र स्थानीयविचको झडपमा गोली लागेर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
हरिनगरा गाउँपालिका ७ घुस्कीस्थित दशगजा नजिक गत साउन २ गते राती सशस्त्रसँगको झडपमा गोली लागेर स्थानीय २१ बर्षीय साहवाज मियाँ घाइते भएका थिए । उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा राखेर उपचारको क्रममा मियाँको बिहीबार मृत्यु भएको हरिनगरा गाउँपालिका अध्यक्ष गफार अन्सारीले जानकारी दिए ।

मृतकका परिवारले क्षतिपूर्ति दिनुपर्ने र सहिद घोषणा गर्नुपर्ने माग राखे पछि स्थानीय प्रशासन, गाउँपालिकाविच सहमति भएको छ । हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीका अनुसार पीडितका परिवारलाई तत्काल गाउँपालिकाले राहत उपलब्द गराउने, मृतकलाई क्षतिपूति दिने र घटनाको सत्यतथ्य छानबिन गरेर दोषी देखिए कारबाही गर्ने सहमति भएको छ । सरकारले दिने १० लाख क्षतिपूर्ति दिलाउन गाउँपालिकाले पहल गन गरि प्रमुख जिल्ला अधिकारी फडिन्द्र अधिकारी, एसपी कमल थापा, सशस्त्र प्रहरी, गाउँपालिकाका प्रतिनीधिलगायत र पीडित परिवारविच छलफल भएको थियो । गाउँपालिका अध्यक्ष गफार अन्सारी आफै धरान आएर सहमति गरी शव परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापाले जानकारी दिए ।

यसरी भएको थियो घट्ना
साउन २ गते राती सशस्त्र प्रहरीको गस्ती टोलीले केही भारती सिमानाबाट केही यसवा नेपाल आएको देखे पछि चेकजाँचका लागि नियन्त्रणमा लिन खोजेको थियो । नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीमाथि नै आक्रमण भएको प्रहरीले दावी गरेको छ । ती युवाहरुले ढुंगामुढा र बाँसको लाठीले आक्रमण गरेपछि प्रहरीले प्रतिकार गर्दा ती युवकलाई गोली लागेको थियो । ती युवकले प्रहरीको हतियार खोस्ने प्रयास जारी राख्दा आफै गोली चलेर मियाँको पेटमा लागेको थियो । पेटबाट गोली ढाडबाट निस्किएको थियो । घट्ना पछि स्थानीयले सशस्त्र प्रहरीको ज्यादती भएको भन्दैं आन्दोलनसमेत गरेका थिए ।