धरान । घरायसी विवादमा छिमेकीलाई एसिड प्रहार गरी गम्भीर घाइते बनाई फरार आरोपितलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

साउन १२ गते वराहक्षेत्र नगरपालिका–३ हर्दियाकी श्यामकुमारी धामीलाई एसिड प्रहार गरी गम्भीर घाइते बनाई फरार ३० वर्षीय रोमन राजधामीलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंको सहयोगमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले साउन १५ गते गौशाला क्षेत्रबाट उनलाई पक्राउ गरेको हो ।

राजधामीले ‘चुरोटको विषयमा घरायसी विवाद हुँदा’ पत्नी सरु भन्ने सरस्वती बस्नेत राजधामीलाई एसिड प्रहार गर्ने क्रममा छेक्दा श्यामकुमारीलाई लागेको थियो । उक्त एसिडले श्यामकुमारीका छोराहरू पनि सामान्य घाइते बनेका थिए ।

एसिड प्रहारपछि उनी फरार रहेका थिए । घरायसी विवादपश्चात् ज्यान जोगाउन छिमेकीको घरमा सरस्वतीले आश्रय लिएकी थिइन् । त्यसक्रममा एसिड बोकेर आएका रोमनले छिमेकी श्यामकुमारीको ढोका फुटाई प्रहार गर्ने क्रममा उनलाई लागेको थियो ।

त्यस्तै छुट्याउने क्रममा २१ वर्षीय सुमन राजधामी र १९ वर्षीय सुजन राजधामीलाई पनि एसिडको छिटा परेर शरीरका विभिन्न भाग जलेको थियो । श्यामकुमारीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि विराटनगरस्थित म्याक्स अस्पतालमा रिफर गरिएको थियो । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रोमनलाई ‘कुटपिट वा अङ्गभङ्गसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोरु काटेको आरोपमा दुई पक्राउ
सुनसरीको वराहक्षेत्र–७ बुद्धचोकमा गोरु काटेको आरोपमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीले गोरु काटिरहेको अवस्थामा ३२ वर्षीय तिलबहादुर दाहाल र ३३ वर्षीय विजयकुमार राईलाई साउन १६ गते राति पक्राउ गरेको हो । उनीहरूविरुद्ध प्रहरीले पशुपंक्षीसम्बन्धी कसुरमा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।