बिर्तामोड । बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले २५ प्रतिशत क्यान्सर पीडितको उपचार गरेको दावी गरेको छ ।

अस्पताल स्थापनाको २० महिनासम्ममा नेपालभर हुने क्यान्सर रोगी मध्ये २५ प्रतिशत रोगीको उपचार गरेको शनिवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालले दावी गरेको हो । 

नेपालभर रहेका क्यान्सर पीडितको तथ्यांक सार्वजनिक गर्दै डा. वीरेन्द्र यादबले सवैभन्दा वढि स्तन क्यान्सरका रोगीको शल्यक्रिया गरेको जानकारी दिए । उनका अनुसार स्तन क्यान्सरपछि आन्द्रा, नाक, कान, घाटी र डिम्वाशय क्यान्सरको शल्यक्रिया गरिएको छ ।

महिलामा पाठेघर क्यान्सर, स्तन क्यान्सर र अण्डादानी क्यान्सरको स्थिति भयावह बन्दै गएको डा. यादवले बताए । प्रत्येक बर्ष नेपालमा ३० देखि ४० हजार क्यान्सर रोगी थपिदै गएको बताउँदै डा यादवले १ हजार ५ सयदेखि २ हजारसम्म क्यान्सर रोगीकोे मृत्यु हुने गरेको बताए ।

‘रोगीलाई क्यान्सर रोग हो भनेर थाहासम्म हुँदैन’ डा यादवले भने ‘शिक्षा र चेतनाका कमिले पनि क्यान्सरबाट मृत्यु हुने गरेको छ ।’ उनले क्यान्सर रोगीका लागि आवश्यक सम्पूर्ण उपकरण पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपलब्ध भएको उनले बताए । उनले झापामा प्रत्येक बर्ष लगभग २ हजारवढि क्यान्सर रोगी वढ्दै गएको जानकारी दिए ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत १० हजार महिलाको पाठेघर क्यान्सरको निशूल्क परीक्षण गरिदिने  योजना ल्याएको बताए ।

निशूल्क परीक्षणसँगै १ लाख बराबरको उपचार खर्च पनि व्यहोर्ने अस्पतालले जनाएको छ । स्वास्थ्यको पहुँच नपुगेका महिलाको चेतना बढाउन पनि अस्पतालले निशूल्क परीक्षण गर्न लागेको उनले जानकारी दिए ।