विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा रहेका ठूला अस्पतालभित्र र बाहिर बिचौलियाको बिगबिगी रहेको पाइएको छ । ठूला अस्पताल जान लागेका बिरामीलाई बीचैमा विभिन्न आश्वासन देखाएर कमिसन पाउने क्लिनिक र अस्पतालमा लैजाने दुईजना बिचौलियालाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ ।

प्रहरीले अस्पतालअगाडि बसेर बिरामीलाई विभिन्न आश्वासन देखाउँदै बिचौलियाको भूमिका खेल्ने विराटनगर–८ अमरटोलका १८ वर्षीय प्रद्युम्न राय र सोही ठाउँका २३ वर्षीय आनन्दकुमार साहलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका बिचौलियाले विराटनगरमा रहेका ठूला अस्पतालहरूमा आएका बिरामीलाई अन्यन्त्र अस्पताल र क्लिनिकमा लैजान खोज्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।

‘पक्राउ परेका बिचौलियाले अस्पताल आएका बिरामी र आफन्तलाई यो अस्पताल राम्रो छैन । यहाँ कारोना फैलिएको छ, राम्रो चिकित्सक अन्यन्त्र रहेको भन्दै क्लिनिकमा लैजान खोज्दा प्रहरीले पक्राउ गरेको हो, प्रवक्ता डिएसपी श्रेष्ठले भने, ‘यो गिरोहले कति बिरामीलाई ठगी गरी अन्यन्त्र अस्पताल लगेको रहेछ, त्यो थप अनुसन्धानपछि खुल्नेछ । हामी अहिले अनुसन्धानको क्रममा रहेका छौं ।’

यसरी हुन्छ ठगी: पक्राउ परेका बिचौलियाले विभिन्न अफवाह फैलाई बिरामी तथा आफन्तहरूलाई झुक्याएर आफ्नो सम्पर्कमा भएको अस्पताल र क्लिनिकमा उपचारको लागि पठाउने र सम्पर्कमा भएको फार्मेसीमा औषधि किन्न पनि बाध्य गराउने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताए ।

‘विराटनगरका विभिन्न अस्पतालअगाडि बसेका बिचौलियाले बिरामी र सर्वसाधारण नागरिकलाई दुःख दिएर हैरानी दिने गरेको उजुरी आएपछि हामीले पक्राउ गरेका हौं’–डिएसपी श्रेष्ठले भने । पछिल्लो समय सरकारी अस्पताल कोसीमा बिरामी धेरै आउने भएकोले बिचौलियाहरू अस्पतालको गेटअगाडि बस्ने गर्दछन् । गेटअगाडि र भित्र पसेर बिचौलियाले विभिन्न अफवाह फैलाएर कमिसन दिने निजी अस्पताल र क्लिनिकमा बिरामी लैजाने गरेका छन् ।

बिचौलियाले सम्पर्कमा आएका बिरामी उनीहरूले सम्पर्क गरेको अस्पताल र क्लिनिकमा पु¥याउँदा निश्चित रकम पाउने गरेका छन् । स्रोतले दिएको जानकारीअनुसार एक जना बिरामीलाई सम्पर्कमा रहेको क्लिनिक र अस्पताल पु¥याउँदा बिचौलियाले ३ सयदेखि ५ सय रुपैयाँसम्म लिने गर्दछन् । जति बढी बिरामीले औषधि, ल्यावमा परीक्षण भयो, बिरामीबाट असुल भएको रकम हेरेर पनि बिचौलियालाई पैसा दिने गरेको नाम नबताउने सर्तमा स्वास्थ्य क्षेत्रका एक जनाले बताए ।

‘बिचौलियाले हस्पिटल चौक र रङ्गेली लाइनमा रहेका निजी क्लिनिकहरूसँग कतिसम्म सम्झौता गरेका हुन्छन् भने एक जना बिरामीबाट २० हजारभन्दा बढीको बिल भयो भने निश्चित रकम लिनुपर्ने सर्त राखेका हुन्छन्, स्रोतले भन्यो, ‘बिरामीको २० हजारको बिल भयो भने बिचौलियालाई ३ देखि ५ हजार रुपैयाँसम्म दिनुपर्दछ ।’

यसरी सबैभन्दा बढी बिचौलिया हस्पिटल चौक, गोल्डेन अस्पतालअगाडि, न्यूरो चोकमा बस्ने गर्दछन् । हस्पिटल चौकमा च्याउसरी खुलेका निजी क्लिनिकहरूले ३ देखि ५ जनासम्म दैनिक बिचौलिया खटाउने गरेका छन् । बिचौलियाहरू शनिमन्दिर चौकमा पनि बस्ने गर्दछन् । तराईका विभिन्न क्षेत्र र पहाडी जिल्लादेखि आएका बिरामी शनिमन्दिरमा सार्वजनिक यातायातबाट उत्रिएपछि हस्पिटल जानुहुन्छ भन्दै बिचौलियाले सोध्न थाल्छन् । यो क्लिनिक र यो अस्पतालमा राम्रो उपचार हुन्छ । राम्रा चिकित्सक छन् । त्यहाँ जानुभयो भने धेरै राम्रो उपचार हुन्छ भन्दै बिचौलियाहरूले बिरामीलाई झुक्याउने गर्दछन् ।

विराटनगरको हस्पिटल चौकमा रहेको ममता हेल्थ केयर, अपेक्षा क्लिनिक, जनसेवा क्लिनिकलगायतले धेरै बिचौलिया राख्ने गरेको स्रोतले जानकारी दिएको छ । हस्पिटल चौकमा क्लिनिक राख्ने पूर्व प्रहरीसमेत रहेका छन् । कोसी अस्पतालको हाडजोर्नी विभागअगाडि पूर्व प्रहरी देवानन्द साहको जनसेवा क्लिनिक रहेको छ । बिचौलियाबाट यस्तो हैरानीमा परे प्रहरीको सम्पर्कमा आउन डिएसपी श्रेष्ठले आग्रह गरेका छन् । ‘यस्तो किसिमको व्यवहारबाट अन्य कोही पनि पीडित हुनुभएको छ वा हुन गइरहेको थाहा भएमा जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ’–डिएसपी श्रेष्ठले भने ।