यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक–कुस्सायक अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा सङ्गम फुटबल क्लब सुनसरी प्रवेश गरेको छ । केकेएफसी झापालाई ०–४ गोलको फराकिलो अन्तरले हराउँदै सङ्गम फुटबल क्लब सुनसरी सेमिफाइनलमा पुगेको हो । 

बुधबार यासोकस्थित पृथ्वी मा.वि.को खेलमैदानमा भएको खेलमा सुनसरीको लागि अनिल राना मगर, विमल घिसिङ, हिमाल लामा र विजय घलानले गोल गरेका थिए ।

दबावमा परेको झापाले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा कुनै गोल गर्न सकेन । कुनै पनि गोल गर्न नसकेको झापा पहिलो चरणबाटै घर फर्कन बाध्य भयो । सुनसरीका गोलकिपर आयुस राना मगर म्यान अफ दी म्याच घोषित भए । उनले नगद पाँच हजार हात पारे ।

प्रतियोगिताको विजेता टिमले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने आयोजक सयपत्री क्लबका अध्यक्ष शिव लाओतीले जनाए ।
sunsari