विराटनगर । विराटनगरस्थित न्यूरो अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु भएको छ । नयाँ वर्षको अवसर पारेर न्यूरो अस्पतालले बिहीबार बिहानबाट हेमोडायलाइसिस सेवा सुरु गरेको हो ।

उक्त हेमोडायलाइसिस सेवा विराटनगरको महेन्द्रचौकस्थित तुलसा मदर एण्ड चाइल्ड हस्पिटल भएको ठाउँमा अत्याधुनिक उपकरण जडान गरी सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । हेमोडायलाइसिस युनिटमा भेन्टिलेटरसहितको आइसियू सेवा पनि रहेको छ ।

६ शय्याको हेमोडायलाइसिस सेवाको उद्घाटन न्यूरो अस्पतालका अध्यक्ष वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट, अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्ट, वरिष्ठ इन्टरभेन्सल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठ र हेमोडायलाइसिस युनिटका प्रमुख वरिष्ठ फिजिसियन डा. केशरबहादुर गुरुङले संयुक्तरूपमा रिबन काटेर शुभराम्भ गरे ।

न्यूरोले सञ्चालनमा ल्याएको हेमोडायलाइसिस सेवा सुविधा सम्पन्न रहेको छ । कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा. विष्टले न्यूरोले हेमोडायलाइसिस सेवा सुरु गरेपछि बिरामीलाई सेवा प्रवाहमा सहज हुने बताए ।

‘हामी सबैको सामूहिक प्रयासले न्यूरो अस्पताल एउटा बहुआयामिक अस्पतालको रूपमा स्थापित हुँदै गइरहेको छ’ डा. विष्टले भने, ‘हामीप्रति आम सेवाग्राहीको अपेक्षा पनि त्यही अनुरूप छ । यही कुरालाई मध्यनजर गरी अस्पतालले नयाँ वर्षको दिनबाट हेमोडायलाइसिस सेवा शुभारम्भ गरेको छ ।’

neuro-1

अस्पतालका अपरेसन डाइरेक्टर राजेश भट्टराईले हेमोडायलाइसिस सेवा सुरु भएपछि अब बिरामीहरू बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको बताए । ‘अब विरामीहरू भौंतारिनुपर्ने अवस्थाको अन्त्य भएको छ’ उनले भने, ‘न्यूरोले सुविधा सम्पन्न अत्याधुनिक उपकरण जडान गरी हेमोडायलाइसिस सेवा सुरु गरेको छ । अहिले ६ शयय्याको रहेको छ । चाँडै १० शय्या पुर्याउने हाम्रो योजना रहेको छ ।’

हेमोडायलाइसिस सेवा सुचारु भएपछि विराटनगर मात्र नभएर प्रदेश १ र मधेश प्रदेशभरिका बिरामीहरूले सहज स्वास्थ्य सेवा लिन पाउने उनले बताए ।

कार्यक्रममा वरिष्ठ इन्टरभेन्सल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठ र हेमोडायलाइसिस युनिटका प्रमुख वरिष्ठ फिजिसियन डा. केशरबहादुर गुरुङले हेमोडायलाइसिस सेवा सुरु भएपछि बिरामीको उपचारमा सहज हुने बताए ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोका, हस्पिटल डाइरेक्टर इ. रञ्जितराज बस्नेत, वरिष्ठ विशेषज्ञ चिकित्सकहरू, मेट्रोन इन्चार्ज र हस्पिटलका कर्मचारीहरूको उपस्थिति रहेको थियो । सोही अवसरमा अस्पतालले नयाँ वर्षको शुभकामना आदान–प्रदान पनि गरेको थियो ।

udha1