लक्ष्मीमार्ग । स्थानीय निर्वाचनमा बेलबारी नगरपालिकामा नेपाली काङ्ग्रेसले गठबन्धन नगर्ने बरु एक्लै नै लड्ने तयारी गरेको छ ।गठबन्धन गर्दा बेलबारीको मेयरमा नेकपा माओवादीले दाबी गरेपछि काङ्ग्रेसले यस्तो तयारी गरेको हो ।
बुधबार दिउँसो नेपाली काङ्ग्रेस बेलबारीको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी नगरसमितिले कुनै पनि हालतमा बेलबारीको मेयरमा दाबी नछोड्ने र यदि त्यस्तो भए गठबन्धन नै तोड्ने जनाएको छ ।
नगर सभापति छत्र लिम्बूले गठबन्धनको लागि वार्ताको ढोका खुल्ला भए पनि प्रमुख पदमा भने आफूहरूको दाबी रहने र सो पद छोड्नुपरेमा गठबन्धन नै तोड्ने बताए । सभापति लिम्बूले भने, ‘गठबन्धन गर्नैपर्ने अवस्था आएमा आवश्यकताअनुसार कुनै एक दलसँग मात्र पनि चुनावी तालमेल हुनसक्छ ।’ यसैबीच पार्टीले बेलबारीले ११ वटा वडामध्ये ५ वटा वडामा उम्मेदवार टुङ्गो लगाएको छ ।
काङ्ग्रेसले बेलबारी–२ मा मणिसुन्दर थापा, ३ मा रिक्तबहादुर गुरुङ, ४ मा चन्द्र लिम्बू, ६ मा टेकबहादुर राई र ११ मा विक्रम बान्तवा राईलाई सर्वसम्मत उम्मेदवार बनाएको नेपाली काङ्ग्रेस बेलबारी नगरसभापति छत्र लिम्बूले जानकारी दिएका छन् । सभापति लिम्बूका अनुसार अन्य वडामा समेत सर्वसम्मतको प्रयास भइरहेको छ ।