धरान । राष्ट्रिय जनमुक्ति पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणा–पत्र सार्वजनिक गरेको छ ।
पार्टीका तर्फबाट धरान उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका राजेश खिम्दुङले मङ्गलबार पत्रकार सम्मेलन गरी विभिन्न ११ बुँदे घोषणा–पत्र सार्वजनिक गरेका हुन् । घोषणा–पत्रमा धरानको पानीको समस्या समाधान गर्न सप्तकोसीबाट पानी ल्याउने, स्थानीय कर ५० देखि ९० प्रतिशत घटाउने उल्लेख छ ।
पार्टीले धरानमा बचतकर्ता ठगी गर्ने सहकारीहरूलाई कानूनी दायरामा ल्याएर पैसा फिर्ता गराउने, ढल र बाटो बनाउँदा जनतासँग एक रुपैयाँ पनि पैसा उठाउन नपाइने, पानीको महसुुलमा सहुलियत दिने, स्थानीय तहका मुद्दाहरू निःशुल्क न्यायिक समिति मार्फत हेर्ने, घर नक्सा बनाउँदा ५० प्रतिशत छुट दिइने, उद्योग धन्दा खोलेर हजारौंलाई रोजगार दिइने, सफारी र टेम्पोलाई नगरपालिकाले कुनै कर नलिने, सुकुम्बासीलाई धनिपुर्जा दिलाउन पहल गर्ने जस्ता घोषणा गरिएको छ ।
घोषणा–पत्र सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुखका प्रत्यासी खिम्दुङले आफूले जितेमा घोषणा–पत्रमा उल्लेखित काम पूरा गर्ने बताए । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले पार्टीले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत कुरालाई प्राथमिकतामा राखेको बताए । जनमुक्तिले धरानको मेयरमा राजेश खिम्दुङ, उपमेयरमा सङ्गीता श्रेष्ठ र वडा नं. ११ को अध्यक्षमा कल्पना याक्खालाई उम्मेदवार बनाएको छ ।