सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थल जाने सडक अन्तर्गत मकालु गाउँपालिका खण्ड मङ्गलबारबाट बन्द गरेको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै गाउँपालिका क्षेत्रमा ठूला मालवाहक सवारी साधन आवत–जावतमा रोक लगाएको छ । गाउँपालिकाको देउरालीदेखि फ्याक्सिन्दा दोभानसम्म भारी सवारी साधनहरू सञ्चालन बन्द गरिएको हो ।

सडक जीर्ण हुँदा गाउँपालिका क्षेत्रमा अत्यावश्यक सवारी साधनसमेत नचल्ने अवस्था सिर्जना भएपछि बन्द गर्न बाध्य भएको गाउँपालिका अध्यक्ष ओङ्दी शेर्पाले बताए । आयोजना निर्माण कम्पनी, सडक विभागजस्ता नियामक निकायले जीर्ण सडकको मर्मत नगरेकोले समस्या भएको छ । बर्खा लागेसँगै सडक जीर्ण हुँदा एम्बुलेन्सजस्ता अत्यावश्यक सवारी साधन आवत–जावतमा समेत समस्या भएको छ ।

यसभन्दा अघि चिचिला गाउँपालिकाभित्र पर्ने छ्याङ्कुटी–देउराली सडक–खण्ड चिचिला गाउँपालिकाले बन्द गरेको थियो । बन्द गरेपछि सडक विभागले मर्मत गरेको थियो । कोसी–ल्हासा राजमार्ग अन्तर्गत पर्ने यो सडक खाँदबारीदेखि माथिल्लो क्षेत्रमा पर्ने सडकको अवस्था जीर्ण रहेको छ ।