पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ का रविन श्रेष्ठ (किरण) सम्पर्क विहीन भएको एक महिना भयो । कुम्मायक गाउँपालिका घर भई हाल फ्रान्सको लुबुर्जे भन्ने स्थानमा बसोबास गर्दै आएका श्रेष्ठ १८ डिसेम्बरदेखि बेपत्ता भएका छन् । 

श्रेष्ठ गत १८ डिसेम्बर राति देखि आफ्ना साथीभाइ, परिवार र रुम पार्टनर कसैसँग पनि सम्पर्कमा नआएपछि परिवारले एनआरएनए फ्रान्सको सहयोगमा खोजी कार्य गरिदिन आग्रह गरेको छ । एनआरएनए फ्रान्सले आइतबार एक सूचना मार्फत रविन श्रेष्ठको खोजी कार्यमा सहयोग गरिदिन सम्पूर्ण फ्रान्स बासी नेपाली समाजलाई अपिल गर्दै आएको जनाएको छ ।

३० वर्षीय श्रेष्ठ वैदेशिक रोजगारीका सिलसिलामा साढे ४ वर्ष देखि फ्रान्समा थिए । विश्वकपको फाइनल खेल हेर्न रुम बाहिर निस्केका श्रेष्ठ हालसम्म पनि परिवार र साथीभाइ कसैसँग सम्पर्कमा नआएको बुबा राजकुमार श्रेष्ठले बताए । 

छोराको खोजीमा सबै क्षेत्रमा पहल गर्दै आएका छौँ । छोरा भेटिनेमा आसा बादी छौ । श्रेष्ठे भने । परिवारले सबै संस्था मार्फत खोजी कार्य जारी राखेको र खोजी कार्यमा सहयोग गरिदिन नेपालीहरूमा परिवारले अपिल गर्दै आएको छ ।  

यता एनआरएनए फ्रान्स अध्यक्ष गीता खनाल थापाका अनुसार खोज कार्यको लागि स्थानीय प्रहरीमा समेत जानकारी गराई सकेको बताइन् । हामीले प्रहरी, प्रवासी नेपाली र फ्रान्सका नागरिकसँग निरन्तर समन्वय गर्दै आएका छौ । तर श्रेष्ठ हालसम्म पनि सम्पर्कमा आएका छैनन् खनालले भनिन् ।