धरान । सरकारी जागिरमा किरात राई समुदायको उपस्थिति बढाउन धरानमा निःशुल्क लोकसेवा तयारी कक्षा सुरु भएको छ ।
शनिबारबाट सुरु भएको तीन महिने लोकसेवा तयारी कक्षामा प्रदेश नं. १ का १० जिल्लाबाट १ सय ४० जना सहभागी छन् । शनिबार सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य अशोककुमार राईले तयारी कक्षाको उद्घाटन गरेका थिए ।
किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरी र एक नम्बर प्रदेश किरात राई कर्मचारी मञ्चको संयुक्त आयोजना तथा किरात राई विद्यार्थी सङ्घ सुनसरीको सहयोगमा सुरु भएको तयारी कक्षाका सहभागीहरूलाई महालेखापरीक्षक कार्यालयका निर्देशक योग्यप्रसाद राई, राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक तीर्थराज राई, उदयपुरको कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किराती, धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाललगायतले प्रशिक्षण दिने यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए ।