धनकुटा । धनकुटा बुद्धिचाल सङ्घको प्रथम जिल्ला अधिवेशनबाट रमेशचन्द्र अधिकारीको नेतृत्वमा सोमबार नयाँ समिति गठन गरिएको छ ।
नयाँ समितिको उपाध्यक्षमा टीका भण्डारी, सचिव हेमकुमार राई र कोषाध्यक्ष विजयशेखर श्रेष्ठ चुनिएका छन् । यस्तै सदस्यहरूमा नारायणकुमार आठपहरिया, कविराज घिमिरे र किशन बोगटी रहेको जनाइएको छ । यसैगरी, अधिवेशनले प्रदेश अधिवेशन प्रतिनिधिसमेत चयन गरेको बुद्धिचाल सङ्घका प्रदेश संयोजक कृष्ण सिग्देलले जानकारी दिए । जसमा रमेशचन्द्र अधिकारी, टीका भण्डारी र शैलेश वाग्ले चयन भएका छन् ।
सो अवसरमा बुद्धिचाल सङ्घका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र पराजुलीले बुद्धिचाल खेललाई धनकुटामा पहिलो पटक केन्द्रले अनुमोदन गरेको जानकारी दिए । सबै जिल्ला र पालिकास्तरमा बुद्धिचालको विस्तार गर्न आफूहरू जुटेको उनको भनाइ थियो ।
यसैगरी पूर्वकेन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद रिजाल, प्रदेश संयोजक कृष्ण सिग्देल, प्रदेश सदस्य अतुलकुमार दाहाल र जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राईलगायतले खेलकुदको विकासका लागि राज्यपक्षको दायित्व रहनुपर्ने जोड दिए ।
यसअघि जिल्लामा राजेश्वरबहादुर श्रेष्ठको नेतृत्वमा तदर्थ समिति कार्यरत थियो । बुद्धिचाल सङ्घको प्रदेश अधिवेशन मङ्गलबारदेखि झापाको दमकमा आयोजना गरिने केन्द्रीय उपाध्यक्ष पराजुलीले जानकारी दिए ।