धरान ।  पाहुना टोली केबीपीएस बङ्गलादेश झापा गोल्डकपमा एपीएफसँग सडन डेथको हारलाई भुलाउन धरानमा जारी २३ औँ अन्तर्राष्ट्रिय बूढासुब्बा आमन्त्रण टुबोर्ग गोल्डकपमा सहभागी भए पनि उस्तै प्रकृतिको हार बेहोर्न बाध्य भएको छ ।

विपक्षी एन्फा मोरङको आक्रामक खेललाई निर्धारित ९० मिनेटसम्म रोके पनि टाइब्रेकरमा ३–१ गोलअन्तरले पराजित हुन बाध्य भयो । झापा गोल्डकपमा एपीएफसँग टाइब्रेकरमा पनि बराबर भएपछि सडन डेथमा पराजित भएको थियो । त्यो हारलाई भुलाउन त्यहाँबाट सिधै टोली धरान आएको थियो ।

मङ्गलबार सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा केबीपीएसका खेलाडीले टाइब्रेकरमा चमत्कारिक प्रहार गर्न नसक्दा पहिलो खेलबाटै फर्किएको छ । केबीपीएस धरानमा पहिलो पटक सहभागी भएको टिम हो । स्मरण रहोस् बूढासुब्बा गोल्डकपको तेस्रो उपाधि बङ्गलादेशको धनमुन्दी क्लबले जितेको थियो । धरानमा यसपटक तीनवटा विदेशी टिम छन् । जसमध्ये भारतको युके एफसीले केएफटिसी झापासँग खेल्दै छ । केएफटिसी झापा भनिए पनि अधिकांश खेलाडीहरू हिमालयन शेर्पासँग आबद्ध छन् । ‘ए’ डिभिजन लिग खेल्ने खेलाडीले भरिभराउ केएफटिसीले भारतको आइलिग खेल्ने केही खेलाडीसम्मिलित टिमसँग आज (बुधबार) पहिलो सेमिफाइनल खेल्दै छ ।

केबीपीएस बङ्गलादेशको पुरानो टिममध्येको एक हो । केबीपीएस सिनियर टिम भने बङ्गलादेशको लिग च्याम्पियन्स टिम हो । तर, धरानमा आएका खेलाडीहरू भने जुनियर डिभिजन खेल्दै आएका खेलाडी हुन् । टाइब्रेकरमा खोका बाबुले मात्रै गोल गरेका थिए । उनको प्रहारलाई विपक्षी गोलरक्षक प्रमिजय गच्छदारले बचाउ गर्न सकेनन् । तर, सजोर, फोरिड र सोहेलको प्रहारलाई सहजै बचाउ गरे । यता एन्फा मोरङका मनिष धिमाल, सञ्जय धिमाल, सान याक्खाको प्रहारमा विपक्षी गोलरक्षक कोबिज फरक पोजिसनमा लड्न पुगे । धीर विष्टको गोल भने उनले उत्कृष्ट बचाउ गरे ।

विदेशी टिमलाई पराजित गरेसँगै मोरङका प्रशिक्षक रानु मगर हौसिएका थिए । उनले भने, ‘युवा खेलाडीहरूले राम्रो खेल खेले । विदेशी टिमसँग यो स्तरमा खेल खेल्नु टिमका लागि राम्रो हो ।’ एन्फा मोरङ ठूला प्रतियोगितामा पहिलो पटक सहभागी भएको हो ।

खेलमा पाहुना टोलीले अवसरहरू धेरै नै सिर्जना गरेको भए पनि अफ्रिकन खेलाडीहरूले सोचेजस्तो पोष्टको दिशा दिन सकेनन् । त्यसलाई बङ्गलादेशका व्यवस्थापक दुलाल सरदारले स्वीकार गर्दै उनीहरूमाथि सङ्गीन आरोप लगाए । उनले भने, ‘हाम्रा अफ्रिकन खेलाडीले म्याच फिक्सिङ गरे कि ! उनीहरूले राम्रो खेलेनन् । पाएको अवसरमा पनि गोल गरेनन् ।’ दोस्रो हाफको १६ औँ मिनेटमा केबीपीएसका साहिनको पासमा डिबक्स क्षेत्रमा रहेका अफ्रिकन खेलाडी ग्लोरीले हेड गरे पनि गोलरक्षकले सुन्दर बचाउ गरे ।

त्यस्तै २७ औँ मिनेटमा साहिनले डिबक्स नजिकै भली गरी विपक्षी गोलरक्षकलाई झुक्याउने प्रयास गरे पनि हातले रोकिदिएका कारण गोल गर्ने अवसर खेर गएको थियो । गोलरक्षकले डिबक्स बाहिर ह्यान्ड गरेपछि उनलाई पहेँलो कार्ड पनि दिइएको थियो । त्यस्तै ३२ मिनेटमा १८ यार्डबाट गरेको प्रहार दोस्रो बार नजिकैबाट बाहिरियो ।

यता एन्फा मोरङले पनि केही अवसरहरू खेर फालेको थियो । दोस्रो हाफको ८ औँ मिनेटमा २५ यार्डबाट कोमल खवासले गरेको सशक्त प्रहारलाई विपक्षी गोलरक्षकले बचाए । खेलको म्यान अफ दी म्याच मोरङका गोलरक्षक प्रमिजय गच्छदार हुँदै नगद १० हजार रुपैयाँसहित ट्रफी पाए । यो खेलसँगै सेमीफाइनलको समीकरण पूरा भएको छ । एन्फाले अब अन्तिम सेमीफाइनल खेल भोलि (बिहीबार) अफ्रिकन टोली एभिनियरसँग खेल्नेछ ।