धरान । अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा टुबोर्ग गोल्डकपको २३ औँ संस्करणमा नयाँ च्याम्पियन बन्ने होड हुँदै छ । शनिबार क्यामरुनी क्लब एभिनियर एफसी र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी) बीच उपाधि भिडन्त हुँदै छ । यी दुई टोलीमध्ये जसले जिते पनि बूढासुब्बाले नयाँ च्याम्पियन पाउनेछ । 

दुई वर्षको बीचमा यी दुई टिमबीच आधिकारिक रूपमा तीनपटक र अनौपचारिक रूपमा एक पटक गरी चारपटक भेट भइसकेको छ । जसमा तीन पटक केएफटीसी विजयी भएको छ । एक पटक एभिनियर एफसीले बाजी मारेको थियो । पछिल्लो १२ दिनअघि मात्रै केएफटीसीमा आबद्ध खेलाडीहरूले फरक क्लबबाट एभिनियरसँग हेटौँडामा प्रतिस्पर्धा गरेका थिए । जहाँ एभिनियर १–० गोलले पराजित भएको थियो । त्यसबेला केएफटीसीमा आबद्ध खेलाडीहरूले हिमालयन शेर्पा क्लबबाट प्रतिनिधित्व गरेका थिए । शारीरिक रूपमा बलिष्ठ रहेका एभिनियरसँग उपाधि होडमा कस्तो रणनीति अपनाउला त केएफटीसीले ? प्रशिक्षक मुन्ना सुब्बा भन्छन्, ‘फुटबल माइन्ड गेम हो । फिजिकल्ली भएर मात्रै हुँदैन । केही असर गर्ला तर, हामी धराने दर्शकलाई निराश बनाउँदैनौँ ।’

केएफटीसी २१ औँ बूढासुब्बादेखि प्रतिनिधित्व गर्दै आएको टिम हो । २१ औँमा सङ्कटासँग सडन डेथमा पराजित भएको थियो । पहिलो दिन खेल नटुङ्गिएका कारण दोस्रो दिन खेल भएको थियो । यस्तै २२ औँमा भने पुलिससँग टाइब्रेकरमा ४–२ गोलले पराजित भएको थियो । जसको बदला यसपटकको बूढासुब्बामा लिँदै पुलिसलाई २–० गोलले हराएको थियो । यता पाहुना टिम युनाइटेड कर्साङ फुटबल क्लबलाई ३–१ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । 

एभिनियरसँगको भेटलाई प्रशिक्षक सुब्बाले भने, ‘फुटबलमा अपोनेन्टलाई कमजोर सोच्दैनौं । तर, यो पटक चाहिँ हामी फाइनल जित्छौँ । हाम्रो मिडफिल्ड राम्रो छ ।’ केएफटीसीसँग केही ‘ए’ डिभिजन खेलिसकेका खेलाडी पनि छन् । ऊसँग खमिरगिल्सन सुब्बा, दिवस उराँव, निरन राई, निशान लिम्बू छन् । त्यस्तै विदेशी खेलाडी यमी पनि छन् । जसले यसअघि दुई गोल गरिसकेका छन् । यता एभिनियरलाई पनि बदला लिने सौभाग्य मिलेको छ । १२ दिनअघिको हार साथै विगतका हारलाई पनि चुकाउने दाउमा छ । यसपटकको बूढासुब्बामा एभिनियरले बागमती युथ क्लब सर्लाहीलाई १–० गोलले र सेमीफाइनलमा एन्फा मोरङलाई २–० ले हराउँदै फाइनल पुगेको छ । यसपटक एभिनियरले जिते सातवटा बूढासुब्बा विदेशी क्लबको पोल्टामा जानेछ । पहिलो, तेस्रो, आठौँ, पन्ध्रौँ, सोह्रौँ र एक्काइसौँ संस्करण विदेशी क्लबले जितेका छन् । यता नेपाली क्लबले १६ वटा बूढासुब्बा जितिसकेको छ । यो जितेमा १७ वटा हुनेछ । 

एभिनियरका प्रशिक्षक आशिक थापा मगरले आफूहरू जित्ने लक्ष्यका साथ बूढासुब्बामा आएको बताए । उनले ४–३–३ को फर्मेसनमा मैदानमा उत्रिने र सोहीअनुसारको तयारी गरेको बताए । ‘झापा धेरै राम्रो टिम छ । भोलिको खेलमा झापाको कमजोरीलाई हामीले अवसरमा परिणत गर्नेछौँ’–उनले भने । क्यामरुनी क्लबमा ‘बी’ डिभिजन खेलेका खेलाडीहरू छन् । विगतको भेटलाई नियाल्ने हो भने बेलबारी गोल्डकपमा एभिनियरले केएफटीसीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको थियो । यता इटहरी गोल्डकपमा केएफटीसी १–० ले विजयी भएको थियो । त्यस्तै मेची नेत्रालय काँकडभिट्टा गोल्कडपमा पनि केएफटीसी २–० गोलले विजयी हुन सफल भएको थियो । यस आधारमा यी दुई टोलीको खेल निकै रोचक हुने अनुमान गरिएको छ । २३ औँ बूढासुब्बा विदेशी कि नेपाली टिमलाई भन्ने अन्यौलता पनि शनिबारको फाइनल खेलबाट चिरिँदै छ । योसँगै बूूढासुब्बाले नयाँ च्याम्पियन पाउनेछ ।