धरान । आयोजक होराइजन क्लबले राष्ट्रिय होराइजन रनिङ कप बास्केटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आयोजकले यसअघि दुईपटक उपाधि उचालिसकेको छ ।
आइतबारबाट घोपा माविको बास्केटबल कोर्टमा सुरु भएको प्रतियोगितामा आयोजक होराइजनले झापाको ज्याकबट क्लबलाई ७२–४४ स्कोरले पराजित गरेको हो । जसमा सर्वाधिक स्कोर आयोजकका कविन मगरले गरे । खेलको म्यान अफ दी म्याच पनि उनी नै घोषित हुँदै नगद १५ सय रुपैयाँ पाए ।
खेलको प्रत्येक क्वार्टरमा होराइजनले १८ – १८ – १३ – २३ स्कोर प्राप्त गर्दा झापाले ९ – १२ – ९ – १४ अङ्क प्राप्त गरेको थियो । फागुन २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरिका ८ टिम सहभागी छन् । साविक विजेता टाइम्स इन्टरनेशनल कलेजसहित उपविजेता विभागीय टिम त्रिभुवन आर्मी क्लब पनि प्रतियोगितामा सहभागी छ । प्रतियोगिता विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र उपविजेताले नगद ५५ हजार रुपैयाँ पाउने क्लबका अध्यक्ष श्रीभक्त राईले जानकारी दिए । प्रतियोगिताको उद्घाटन धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले गरेका थिए ।
२०६९ सालदेखि सुरु भएको प्रतियोगिता बीचमा कोरोना महामारीका कारण रोकिएको थियो । उपत्यकाबाहिर हुँदै आएका ठूला प्रतियोगितामध्ये यो पनि एक हो । आज (सोमबार) विभागीय टिम नेपाल पुलिस क्लब र होलील्यान्ड इन्टरनेशनल कलेजबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।