विजयपुर । दोस्रो विश्वयुद्धका वीर योद्धाहरूको सम्मानमा चैत ४ गते ट्रायल ब्लेजर दौड प्रतियोगिता हुने भएको छ ।

आइतबार गोर्खा सिमेट्री ट्रष्टले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । ट्रष्टका अध्यक्ष महेन्द्रकुमार राईले विश्वयुद्धका वीर गोर्खा सहिद गोर्खा योद्धाहरूको स्मृतिमा पहिलो पटक नेपालमा गोर्खा ट्रायल ब्लेजर नेपाल आयोजना गरिएको बताए । ८ किलोमिटर ५ सय मिटर दूरीको दौड हुनेछ । दौड धरान–१८ रत्नचोकबाट सुरु भई मङ्गलबारे चौक, सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुकास्थित गोर्खा स्मृति पार्कमा पुगेर सम्पन्न हुनेछ ।

प्रतियोगितामा १ सय ५० जना सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र चौथो हुनेले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुनका लागि फाराम खुल्ला रहेको छ । समापन कार्यक्रममा दोस्रो विश्वयुद्ध लडेका १ सय वर्षमाथिका ३ जना पूर्व गोर्खा योद्धाहरूलाई सम्मान गर्ने पनि आयोजकले जनाएको छ ।

सम्मानित हुनेमा ओखलढुङ्गाका १ सय २ वर्षीय धनसिंह राई, तेह्रथुम घर भई हाल धरान–११ मा बसोबास गर्ने १ सय १ वर्षीय धनदल लिम्बू र सङ्खुुवासभा घर भई हाल विराटनगर बस्दै आएका १ सय १ वर्षीय मानबहादुर लिम्बू रहेका छन् । गोर्खा सिमेट्री ट्रष्ट सन् २०१८ मा स्थापना भएको हो । त्यसयता ट्रष्टले वीर गोर्खाहरूलाई सम्मान कार्यक्रम गर्दै आएको छ ।