धरान । साविक विजेता काठमाडौँको टाइम्स इन्टरनेसनल क्लब सातौँ राष्ट्रिय होराइजन बास्केटबल प्रतियोगिताको सेमीफाइलनमा प्रवेश गरेको छ ।
धरान–१७ स्थित घोपा माविको बास्केटबल कोर्टमा मङ्गलबार सम्पन्न प्रतियोगितामा उसले मोरङको विराटनगर बास्केटबल एकेडेमीलाई ८९–६० अङ्कले हराएको छ । टाइम्सले प्रत्येक क्वार्टरमा १८, १६, ३० र २५ अङ्क जोड्यो ।
यता विराटनगरले प्रत्येक क्वार्टरमा १४, १८, ११ र १७ अङ्क जोडेको आयोजक होराइजन क्लबका निवर्तमान अध्यक्ष वसन्त राईले जानकारी दिए । उनका अनुसार आज (बुधबार) गतवर्षको साविक उपविजेता विभागीय टिम त्रिभुवन आर्मी क्लबका विरुद्ध मधेश प्रदेश बास्केटबल क्लबबीच भिडन्त हुँदै छ । मधेश प्रदेश क्लब पहिलो पटक सहभागी भएको हो ।
प्रतियोगितामा विराटनगरका सुजन लिम्बू खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद एक हजार ५ सय रुपैयाँसहित ट्रफी पाए । यस्तै सोमबार सम्पन्न दोस्रो दिनको प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले अन्तिम चारमा स्थान सुरक्षित ग¥यो । उसले धरानको होलील्यान्ड इन्टरनेसनल स्कुललाई ९९–४६ फराकिलो अङ्कले पराजित गरेको छ । पुलिसले प्रत्येक क्वार्टरमा २८, २७, १८ र २९ अङ्क बटुल्यो ।
त्यस्तै होलील्यान्डले ९, ४, ११, र १९ अङ्क प्राप्त गरेको थियो । खेलको म्यान अफ दी म्याच पुलिसका सयुन राई घोषित हुँदै नगद १ हजार ५ सय रुपैयाँ पाए । प्रतियोगिताको विजेता टिमले नगद एक लाख ११ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ ।