धरान । राष्ट्रपतिको निर्वाचन आज (बिहीबार) हुँदै छ । निर्वाचन आयोगका अनुसार राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । नेपालले तेस्रो राष्ट्रपति पाउने भएको हो ।
राष्ट्रपतिका लागि नेपाली काङ्ग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् । आयोगका अनुसार आज बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको हो । मतदानका लागि बानेश्वरस्थित संसद् भवन परिसरका दुई स्थानमा मतदान केन्द्र बनाइएको छ ।
सङ्घीय सांसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र बनाएको निर्वाचन अधिकृत महेश शर्माले जानकारी दिए । उनका अनुसार ३ बजेसम्म मतदान सम्पन्न गरी साँझ ७ बजेसम्म मतपरिणाम घोषणा गर्ने योजना रहेको छ । उनले भने, ‘४ बजेबाट मतगणना सुरु गर्ने तयारी छ ।’ मतदान केन्द्रभित्र मोबाइल लैजान नपाउने जनाइएको छ । यदि लगेको पाइएमा निर्वाचन कसूरअुनसार कारबाही हुनेछ ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा कसैलाई पनि मत नहाल्ने भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मतदान गर्नुपर्ने पक्षमा देखिए पनि पार्टीका अन्य पदाधिकारीहरूले राजतन्त्रको वकालत गर्ने पार्टीले राष्ट्रपतिमा मतदान गर्दा एजेन्डा सकिने भन्दै विपक्षमा उभिएपछि तटस्थ बस्ने निर्णय गरेको हो ।