विराटनगर । विराटनगरमा जारी दोस्रो ‘इक्वालिटी कप महिला क्रिकेट’ प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया रोडस्थित मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा मोरङले सप्तरीलाई ५४ रन अन्तरले पराजित गरी लगातार २ खेल जित्दै फाइनलको यात्रा तय गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको मारेङले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय १७ रनको स्कोर बनाएको थियो । मोरङकी सोनु राजवंशीले ४२ रन बनाउँदा टीका साहले २० रनको योगदान दिइन् ।

सप्तरीकी दीपिका सिंंहले ३ विकेट लिँदा सुस्मिता यादवले २ विकेट लिइन् । १ सय १८ रनको लक्ष्य पछ्याएको सप्तरीले १७ दशमलव ४ बलमा ६४ रनमा अलआउट भयो । सप्तरीका कुनै पनि ब्याटरले दोहोरो स्कोरलाई छुन सकेनन् । मोरङकी कप्तान सानु राजवंशीले २ विकेट लिँदा टीका साह, वन्दना राजवंशी र सृजना राजवंशीले २–२ विकेट लिए । खेलको वुमेन अफ दी म्याच मोरङकी अलराउन्डर खेलाडी टीका साह घोषित भइन् ।

दोस्रो खेलमा सिरहाले  एमसिसी ११ लाई ६ विकेटले पराजित गरी लगातार २ खेलमा विजयी हात पार्दै फाइनलको यात्रा तय गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको एमसिसी ११ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ९ रनको स्कोर बनाएको थियो । एमसिसीकी चाँदनी यादवले २१ रन बनाउँदा मनिषा मल्लिकले १६ रन र रश्मी साहले नटआउट १४ रन बनाइन् ।

सिरहाकी अर्चना महतोले २ विकेट लिँदा चन्द्रिका साहले पनि २ विकेट लिइन् । १ सय १० रनको लक्ष्य पछ्याएको सिरहाले १५ दशमलव ३ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सिरहाकी वुमन अफ दी म्याच अर्चना महतोले ३२ रन बनाउँदा प्रसिद्धिका खड्काले नटआउट १९ रन बनाइन् ।

एपसिसिकी रचना चौधरीले २ विकेट लिइन् । मोरङले २ खेलमा विजयी हुँदै शीर्षस्थानमा रहेको छ भने सिरहा पनि २ खेलमा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ । सप्तरी र एमसिसी ११ ले २ खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ । आज (शुक्रबार) लिगको अन्तिम दिन पहिलो खेल मोरङ र सिरहा तथा दोस्रो खेल सप्तरी र एमसिसी ११ बीच हुनेछ । फागुन २७ गतेसम्म हुने प्रतियोगितामा मोरङ, सप्तरी र सिरहासहित ४ टिम सहभागी रहेको फाउन्डेसनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए ।