विराटनगर । गाईघाट फुटबल क्लब उदयपुर विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको अन्तिम चारमा पुगेको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा मङ्गलबार भएको खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई टाइब्रेकरमा ४–२ गोलले निराश बनाउँदै गाईघाट अन्तिम चारमा पुगेको हो । जितसँगै गाईघाट बिहीबार हुने दोस्रो सेमिफाइनलमा साविक विजेता प्रतिभा फुटबल क्लब सिरहासँग प्रतिस्पर्धा गर्नेछ ।

जितको लागि गाईघाटका देवीराज चौधरी, रोशन भुजेल, प्रवीण राई र मनिष कटुवालले गोल गरी टिमलाई सेमिफाइनलमा पुर्याउन सफल भए । वीरगञ्जका शिसाद थापा र विश्वास थापाले मात्र गोल गरेका थिए । कृपा चौधरी र श्याम चौधरीको प्रहार गाईघाटका गोलकिपर निम छिरिङ शेर्पाले  उत्कष्ट बचाउ गरिदिए ।

टाइब्रेकरमा दुई गोल सेभ गरिदिने गाईघाटका गोलकिपर शेर्पा म्यान अफ द म्याच घोषित भए । निर्धारित समयमा दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको थियो ।

खेल अवधिभर एक दर्जन गोल गर्ने अवसर चुकाउँदा वीरगञ्ज घर फर्किन बाध्य भयो । पहिलो हाफसम्म एक पक्षीय खेल पस्किएको वीरगञ्जले खेल सुरु भएको १३ औं मिनेटमा विवेक चौधरीले २५ यार्डदेखि गरेको सशक्त प्रहार पोष्टमा लागेर बाहिरियो । विवेकले बारम्बार पाएको प्रहार बाहिरिँदा पहिलो हाफमा अग्रता पार्ने अवसर गुमाएको थियो । ४१ औं मिनेटमा गाईघाटका तीर्थ राईले डिबक्स भित्रबाट गरेको प्रहार बारिएको थियो ।

दोस्रो हाफदेखि गाईघाटले आक्रामक खेल पस्कियो । दोस्रो हाफपछि अमर डङ्गोल र विवेक चौधरीको प्रहार बाहिरिएपछि वीरगञ्ज हार व्यहोर्न बाध्य भयो । ५० औं मिनेटमा विवेक चौधरीले पेनाल्टी एरियाबाट गरेको हेडिङ बाहिरियो ।

५५ औं मिनेटमा गाईघाटका देवराज चौधरीले डिबक्सभित्रबाट गरेको प्रहार बाहिरिँदा जित हातपार्न टाइब्रेकर कुर्नुपर्यो । आज (बुधबार)को पहिलो सेमिफाइनल खेलमा ध्रुवतारा स्पोर्टिङ क्लब झापा र सहलेस युवा क्लब सिरहाबीच प्रतिस्पर्धा हुनेछ ।