विजयपुर । एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बूले शारीरिक सुगठन प्रतियोगितालाई स्थानीय सरकारले बेवास्ता गरेको बताएका छन् ।
चैत ३ बाट सुरु हुने मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिताबारे बुधबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लिम्बूले स्थानीय सरकारले बेवास्ता गरेको बताए । उनले भने, ‘अन्य खेलका वडास्तरका प्रतियोगितलाई ५ लाखसम्म दिइएको छ । हाम्रो राष्ट्रिय स्तरको प्रतियोगितालाई २ लाख मात्रै छुट्याइएको छ । यसले नै बेवास्ता गरेको पुष्टि हुन्छ ।’
जिमको २० औँ प्रस्तुतिमा चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता चैत ३ बाट धरान–१३ स्थित अमर सेवा समाजमा हुँदै छ । प्रतियोगिताको पहिलो दिन प्रिजजिङ राउन्ड हुने आयोजकले जनाएको छ । प्रिजजिङ राउन्डमा जम्मा छ ओटा तौल समूह रहनेछ । ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी र ७५ के.जी. भन्दा माथिको तौल समूह रहनेछ । प्रि–जजिङ राउन्डमा एक तौल समूहबाट ६ जना खेलाडी समावेश गराइने छ ।
प्रतियोगितामा छ ओटा तौल समूह गरी जम्म ३६ जना खेलाडी फाइनलका लागि छनोट गरिनेछ । प्रतियोगिताको फाइनल चैत ४ गते हुनेछ । फाइनलमा प्रत्येक तौल समूहलाई प्रतिस्पर्धा गराई प्रत्येक तौल समूहका प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैठौं हुने खेलाडी छनोट गरिनेछ । प्रत्येक तौल समूहको विजयी खेलाडीहरूलाई मात्र ओभरअल राउन्डमा समावेश गराइनेछ ।
ओभरअल राउन्डबाट प्रतिस्पर्धा गराई प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैठौँ खेलाडी छनोट गरिने छ । ओभरअल राउन्डमा विजेता खेलाडी चौथो मिस्टर कोशी घोषित हुनेछ । दोस्रो र तेस्रोलाई रनरअप घोषित गर्दै चौथो, पाँचौं र छैठौँ घोषित गर्दै नगद पुरस्कारले पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको विजेताले १ लाख १० हजार रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछन् । द्वितीय, तृतीय, चौथो, पाँचौँ र छैठौँले क्रमशः ५०, ४०, ३०, २०, १५ हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै व्यक्तिगत विजेता खेलाडीले नगद ५ हजार रुपैयाँ पाउनेछ । व्यक्तिगततर्फ बेस्ट टिम, बेस्ट पोजर, मोस्ट मस्कुलरमेनको उपाधि पाउनेछ ।