धरान । तेह्रौं इटहरी गोल्डकपमा साविक विजेता सगरमाथा युथ क्लब मोरङ र चर्च ब्वाइज युनाइटेडबीच उपाधिका लागि भिडन्त हुने भएको छ ।

बिहीबार सम्पन्न प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै चर्च ब्वाइज उपाधि होडमा पुगेको हो । साविक विजेता सगरमाथाले बुधबार लिग विजेता मच्छिन्द्र क्लब काठमाडौँलाई ३–१ गोलअन्तरले हराउँदै उपाधि नजिक पुगेको थियो । सगरमाथाका राजीव लोप्चन, स्टेफेन र मेसुकेले गोल गरे ।

बिहीबारको खेलमा चर्च ब्वाइजले उपहार गोल पायो । आर्मीका दीपक गुरुङले आत्मघाती गोल गरेपछि चर्च ब्वाइज उपाधि नजिक पुगेको हो । खेलको २२ औँ मिनेटमा चर्च ब्वाइजलाई विदेशी खेलाडी बेम्पाले गरेको फ्रिकिक प्रहारलाई दीपकले हेडले क्लियर गर्न खोज्दा आत्मघाती गोल गर्न पुग्यो ।

खेलको म्यान अफ दी म्याच विदेशी खेलाडी फ्रेकलिङ्क ताल्ला घोषित हुँदै नगद १० हजार रुपैयाँ पाए । चर्च व्बाइजका प्रशिक्षक प्रदीप हुमागाईंले खेलबाट आफू सन्तुष्ट भएको बताए । फाइनल खेल भोलि (शनिबार) हुँदै छ । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछ ।