धरान । चालु शैक्षिक सत्रमा सम्पन्न भएका विद्यालय तथा विद्यालयभन्दा बाहिरका प्रतियोगिताहरूमा धरान–१२ चतरालाइनस्थित धरान मेघा कलेजले सबैभन्दा बढी ट्रफी जित्न सफल भएको छ ।

शैक्षिक सत्र २०७९/०८० मा धरान मेघाले एकाधबाहेक अधिकांश प्रतियोगिताहरू जितेको हो । धरान मेघाले फुटबल, बास्केटबल, भलिबल, टेबलटेनिस, वक्तृत्वकलालगायतका प्रतियोगिताहरूमा जित हासिल गरेको एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए । उनका अनुसार फुटबलतर्फ तीनवटा प्रतियोगिता जितेको छ । गत पुस १८ गते सम्पन्न धरानको मेयर कप, फागुन १४ गते सम्पन्न हिसान सुनसरी कप र फागुन ३० गते सम्पन्न एएनएनएफएसयु कप जितेको थियो ।

यस्तै बास्केटबलतर्फ हिसान, अल्फाबिटा कोशी प्रदेशस्तरीय, एनप्याब्सन र होलिल्यान्ड कप जितेको छ । मङ्सिर २४ गते सम्पन्न भएको हिसान बास्केबटलमा छात्रतर्फ विजेता बन्दा छात्रातर्फ उपविजेता बनेको उनले जानकारी दिए । त्यस्तै फागुन १० गते सम्पन्न अल्फाबिटा कोशी प्रदेशस्तरीय प्रतियोगितामा छात्रछात्राको समूह नै विजेता बनेको थियो । माघ ८ गते सम्पन्न होलिल्यान्ड इन्टरनेसनल स्कुलले आयोजना गरेको कक्षा १२ सम्मको प्रतियोगितामा विजेता बनेको छ । यस्तै एनप्याब्सनले माघ ६ गते सम्पन्न गरेको बास्केटबल प्रतियोगितामा पनि विजेता बनेको थियो ।

भलिबलतर्फ भने हिसानले आयोजना गरेको माघ ९ गते सम्पन्न प्रतियोगितामा विजेता बनेको निर्देशक घिमिरेले जानकारी दिए । धरान नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा पनि धरान मेघा कलेजबाट सहभागी विद्यार्थी विजेता बनेको थियो भने हिसानले आयोजना गरेको वक्तृत्वकलामा रनरअप बन्न सफल भएको थियो ।

यस्तै हिसानले आयोजना गरेको टेबल टेनिसतर्फ विजेता बन्दा ब्याडमिन्टन प्रतियोगितामा रनरअप बनेको थियो । कलेजले अहिले पढाइका अलावा खेलकुदमा पनि उत्तिकै ध्यान दिएको कलेजका प्रिन्सिपल भाष्कर पौड्यालले जानकारी दिए । उनका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप जस्तैः फुटबल, बास्केटबल, टेबलटेनिस, वक्तृत्वकला, नृत्य, गायनहरूमा पनि ध्यान दिएका छौँ । ‘यो उमेरमा विद्यार्थीहरू पढाइ छाडेर अन्यत्र पनि लाग्न सक्छन् ।

खेलले एक खालको अनुशासन पनि ल्याउँछ । विद्यार्थीहरूको पढाइ त छँदै छ । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद महत्वपूर्ण हो’–उनले भने । सोहीअनुसार यस वर्ष धेरै खेलकुदमा पुरस्कार पनि जितेको उनले बताए । पाठ्यक्रमभन्दा अतिरिक्त क्रियाकलापहरू पनि गरिरहेको उनले जानकारी दिए ।