धरान । तेह्रौँ इटहरी गोल्डकपको उपाधि साविक विजेता सगरमाथा युथ क्लब मोरङले जितेको छ ।
इटहरी रङ्गशालामा शनिबार सम्पन्न फाइनलमा काठमाडौँको चर्च ब्वाइज युनाइटेडलाई सडन डेथमा ६–५ गोलअन्तरले पराजित गरेको हो । यससँगै सगरमाथा बाह्रौँ र तेहौँ च्याम्पियन बनेको छ ।
निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फबाट गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा धकेलिएको थियो । चर्च ब्वाइजका फ्रेकलिङ तल्ला, रञ्जीत पाण्डे, मिलन राई, विदेशी खेलाडी बेम्पा र गोलकिपर प्रिसोले गोल गरे । मनोज राईको प्रहार माथिल्लो बारबाट बाहिरिएको थियो ।
यता सगरमाथाका अभिषेक लिम्बू, मेसुके ओलामावस, स्टेफिन बिनोङ, राजीव लोप्चन, महिन्द्र कार्की र विवेक बर्माले गोल गरे । उपाधिसँगै सगरमाथाले नगद १० लाख रुपैयाँसहित ट्रफी पाएको छ । यता चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँसहित ट्रफी पाएको छ । उत्कृष्ट खेलाडी सगरमाथाका कप्तान महिन्द्र कार्की घोषित हुँदै नगद १ लाख पाए ।
सर्वाधिक गोल गरेका मच्छिन्द्र क्लबका आफिज ओलावाले घोषित हुँदै नगद ३० हजार पाए । उनले खेल अवधिभर ५ गोल गरेका थिए । सगरमाथाका देव लिम्बू बेस्ट गोलकिपर, विशाल बस्नेत, बेस्ट डिफेन्डर, स्टेफिन बिनोङ, बेस्ट फरवार्ड र याम गुरुङ बेस्ट कोच घोषित भए ।
चर्च ब्वाइजका मौसम लिम्बू बेस्ट मिडफिल्डर र म्यान अफ द फाइनल घोषित भए । उनीहरूले जनही नगद २० हजार हात पारे । प्रतियोगितामा ८ टिम सहभागी थिए ।