बिर्तामोड । झापाको बिर्तामोडमा हुने प्रदेश स्तरीय शारिरीक सुगठन प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ ।
आयोजक ग्यालेक्सी फिटनेसले बिर्तामोडमा पत्रकार सम्मेलन गरी यस बर्ष आयोजना हुने शारिरीक सुगठनको तयारी पुरा भएको जनाएको छ ।
चैत २४ / २५ गते बिर्तामोडमा हुने प्रतियोगितामा कोशी प्रदेशका खेलाडीले सहभागी हुन पाउँने आयोजक समितिका सचिव केशब श्रेष्ठले जानकारी दिए । खेलाडीलाई बिभिन्न ५ समुहमा बिभाजन गरेर प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ५५, ६०, ६५, ७० / ७५ केजीभन्दा माथीको तौल समुहमा प्रतिष्पर्धा गराइने उनले बताए । तौल समुहका बिजेतामध्ये प्रतिष्पर्धा गराएर एकजना च्याम्पियन छनौट गरिने कार्यसुची रहेको जानकारी श्रेष्ठले दिए ।
प्रतियोगिताको बिजेताले २ लाख, दोस्रो हुनेले १ लाख २५ हजार, तेस्रो ७५ हजार, चौथो ५० हजार र पाँचौ हुनेले ३० हजार रुपैंयाँ पुरस्कार पाउँने आयोजक समितिका कोषाध्यक्ष चन्द रानामगरले जानकारी दिए । त्यसैगरी हरेक तौल समुहमा दोस्रो र तेस्रो हुनेले जनही १० र ५ हजार रुपैंयाँ पुरस्कार पाउँने मगरले जानकारी दिए ।
बिर्तामोडको कृष्ण सिनेमा हलमा आयोजना हुने प्रतियोगितामा प्रदेशभरका १ सय ५० भन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा आयोजकको छ । प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैंयाँ खर्च हुने अनुमान रहेको उनको भनाई छ ।