विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर र नरपथगञ्ज क्रिकेट क्लब बिहार विजयी भएको छ । 

विराटनगर जुट मिलको खेलमैदानमा मङ्गलबारको पहिलो खेलमा पाहुना टोली दिल्ली युनाइटेड क्रिकेट क्लबलाई ५ विकेटले निराश बनाउँदै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भएको हो । दिल्लीले दिएको १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टिम मिल्सले ११ ओभर २ बलमा ५ विकेट गुमाई पूरा ग¥यो । मिल्सका पवन सरापले २६ बलमा ५९ रनको अर्धशतकीय इनिङ खेले । सुनिल धमालले ३३ रन बनाए । सुनिल महर्जनले १९ रनको योगदान गरे । दिल्लीका अङ्कित रोय, रोहित त्रिपाटीले समान २–२ विकेट लिए भने विवेक पालले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको दिल्लीले १८ ओभर ४ बलमा १० विकेट गुमाई १ सय ३० रन बनाएको थियो । दिल्लीका यबुदिप यादवले ३८ रन बनाए । मोहित पाण्डेले २५ रन र अभिरूप गुप्ताले १६ रन बनाए । बलिङमा मिल्सका मन्जित श्रेष्ठले ३ ओभर ४ बलमा सर्वाधिक ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । अरुण एरीले २ विकेट र पवन सरापले १ विकेट लिए । सोही दिन भएको दोस्रो खेलमा बैशालु क्रिकेट क्लब पटनालाई २ सय २७ रनको फराकिलो अन्तरले हराउँदै  नरपथगञ्ज क्रिकेट क्लब बिहार विजयी भई सेमिफाइनलमा पुगेको छ ।

नरपथगञ्ज क्रिकेट क्लबले दिएको ३ सय १७ रनको विशाल लक्ष्य पछ्याएको बैशालुले १४.२ ओभरमा १० विकेट गुमाई ८९ रनमा सीमित भयो । बैशालुका शिवम शर्माले २२ रन बनाए । महिन यादवले १७ रन र  अरोज आलमले ११ रनको योगदान दिए । पटनाका अभिषेक पाठक, दिव्य सिंह र साहिल कुमारले समान २–२ विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नरपथगञ्ज क्रिकेट क्लब बिहारले निर्धारित २० ओभरमा ६ विकेट गुमाई ३ सय १६ रनको विशाल योगफल खडा गरेको थियो । बिहारका अभिषेक पाठकले २२ बलमा ८२ रनको अर्धशतकीय इनिङ खेले  । भानु आनन्दले २८ बलमा ५९ रन बनाए । साहिल कुमारले २३ बलमा ५७ रन बनाउँदै अविजित रहे ।

बलिङमा बैशालुका फुर्सिद अनुहरले ४ विकेट लिए । मुस्कान आलम र गोनु मण्डलले समान १–१ विकेट लिए । म्यान अफ द म्याच पटनाका अभिषेक पाठक घोषित भए । आज (बुधबार) को पहिलो खेल मिल्स क्रिकेट क्लब  र ओसिस क्रिकेट क्लब काठमाडौंबीच हुनेछ । आजै हुने दोस्रो खेल एनबीएससी क्रिकेट क्लब विराटनगर र लयर वाईआरसिसी क्रिकेट क्लब विराटनगरबीच हुने मिल्स क्रिकेट क्लबका कोषाध्यक्ष अमर सिंहले जानकारी दिए ।