विराटनगर । विभागीय टिम नेपाल आर्मी र एपीएफले विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आर्मीले पहिलो जित निकाल्दा एपीएफले दोस्रो पटक जित हासिल गरेको हो ।

लिगकम नकआउट नियममा सञ्चालित प्रतियोगितमा मङ्गलबार भएको पहिलो खेलमा वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले निराश बनाउँदै आर्मी विजयी भएको हो ।

विराटनगर जुटमिलको खेलमैदानमा जारी प्रतियोगितामा १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १५ दशमलव १ बलमा ३ विकेट गुमाई पूरा ग¥यो । आर्मीका बसिरले विष्फोटक ब्याटिङ गर्दै टिमको जितको आधार तय गरेका थिए । उनी ३३ बलमा ४४ रन बनाउँदै अविजित रहे । उनले ६ चौका र १ छक्का हिर्काए  । खेलको म्यान अफ द म्याच पनि उनी नै घोषित भए ।

राष्ट्रिय खेलाडीले भरिपूर्ण आर्मीका हरि चौहानले २६ बलमा ३८ रन बनाए । उनले २ छक्का र ५ चौका हिर्काए । सन्दीपले १५ बलमा ३६ रन बनाउँदा राजेश पुलामीले १० बलमा २४ रनको पारी खेल्दै उनले २ छक्का र २ चौका हिर्काए ।

बलिङमा वाइआरसीसीका भीष्म सहनीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए । हरिषले २ ओभरमा २० रन खर्चेर १ विकेट लिए । 

जवाफमा वाइआरसीसीले १९ दशमलव  ५ बलमा अलआउट भई १ सय ५५ रनमा समेटियो । वाइआरसीसीका सोनु अन्सारीले ३७ बलमा अर्धशतकीय इनिङ खेले । उनले  ६ छक्का र ४ चौका हिर्काए । अभिषेक चौधरीले २६ बलमा ३१ रन बनाए । उनले २ छक्का र २ चौका हाने । सिद्धान्त लोहनीले  १६ बलमा २८ रन रनको पारी खेल्दा अरू कुनै पनि ब्याटरले दोहोरो अङ्क छोएनन् ।

बलिङमा आर्मीका जितेन्द्र मुखियाले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिएका थिए । विक्रम सोब, सुमी श्रेष्ठले समान २–२ विकेट लिए भने आकाश चन्द र  नरी चौहानले समान १–१ विकेट लिए ।

सोही दिन भएको दोस्रो खेलमा एपीएफले दोस्रो जित हात पारेको छ । आफ्नो दोस्रो खेलमा भारत विहारको राहुल ११ नरपथगञ्जलाई ५ विकेटले स्तब्ध बनाउँदै एपीएफले दोस्रो जित निकालेको हो । १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले १८ दशमलव २ बलमा ५ विकेट गुमाई पूरा गर्यो ।

म्यान अफ द म्याच एपीएफका विपिन खत्री घोषित भए । पहिलो खेलमा वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई  ४ विकेटले हराउँदै एपीएफले जित दर्ता गराएको थियो । आज (बुधबार) को पहिलो खेल वाइआरसीसी र नरपथगञ्जबीच हुनेछ भने दोस्रो खेल आर्मी र एपीएफबीच हुनेछ ।