विराटनगर । विभागीय टिम नेपाल आर्मी लगातार दुई पटक जित निकाल्दै प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेको छ ।

लगातार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले अर्को विभागीय टिम एपीएफलाई खराब लाइटिङका कारण खेलको निर्णय डिएलमेथडबाट २३ रनले जित हात पारेको हो । दोस्रो जितसँगै आर्मी समूह ‘क’ बाट  ४ अङ्क बनाउँदै रनरेटको आधारमा फाइनलमा पुगेको छ ।

एपीएफले दिएको १ सय ५९ रनको लक्ष्य आर्मीले १७ ओभरमा ४ विकेट गुमाउँदै १ सय ५१ रन बनाएपछि डिएलमेथडको आधारमा २३ रनले जित निकालेको हो । जसमा आर्मीका रमेश भट्टले २९ बलमा ४१ रन बनाए । उनले ५ चौका र १ छक्का हिर्काए । सन्दीप रिजालले १५ बलमा ११ रन बनाए ।

राजेश पुलामीले २६ बलमा अविजित ४९ रन बनाए । उनले ६ छक्का र १ चौका हिर्काए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । दिनेश भण्डारीले अविजित २१ बलमा २६ रन बनाए । एक छक्का र ४ चौका हिर्काए । बलिङमा एपीएफका तिलोक महराले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । कृष्ण कार्कीले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । अमरसिंह रौटेलाले ४ ओभरमा ३० रन दिएर १ विकेट लिए ।

यसअघि एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ५८ रन बनाएको थियो । प्रदीप एरीले ४१ बलमा १ छक्का र ६ चौका हिर्काउँदै ४३ रन बनाए । अमरसिंह रौटेलाले २३ बलमा अविजित ४२ रनको योगदान दिए । उनले २ छक्का र ५ चौका हिर्काए । अरुण एरीले १६ बलमा २३ रन बनाए । २ छक्का र १ चौका हाने । पूरुण विकेले अविजित १३ बलमा १४ रन बनाउँदा सरप भेस्पकरले ११ रनको योगदान दिए ।

बलिङमा आर्मीका सुमित श्रेष्ठले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । हरि चौहानले ४ ओभरमा ४५ रन दिएर १ विकेट लिए । आज (बिहीबार) बाट समूह ‘बी’बाट लिगको आधारमा खेल हुनेछ । पहिलो खेल दिल्ली युनाइटेड र विगाभीय टिम नेपाल पुलिसबीच हुनेछ भने दोस्रो खेल एनबी ग्रुप धनगढी र एनएनबीएससी विराटनगरबीच हुनेछ ।