इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाले २ सय जनालाई निःशुल्क बिमा गरिदिएको छ । गाउँपालिकाले अति विपन्न, गरिब, दलित तथा असहाय, अशक्त र एकल महिलाको निःशुल्क बिमा गरिदिएको हो ।

चालु आर्थिक वर्षमा एक हजार जनाको निःशुल्क बिमा गर्ने लक्ष लिएको भोक्राहा नरसिंह गाउँपालिकाले पहिलो चरणमा २ सय जनाको बिमा गरी दिएको गाउँपालिका अध्यक्ष अजमल आजादले बताए । गाउँबासीको हितमुखी कार्यलाई प्राथमिकता राखिएको बताएका अध्यक्ष आजादले गाउँपालिकाले रकम बेहोर्ने गरी लक्षित सर्वसाधारणका लागि निःशुल्क बिमाको व्यवस्था मिलाइएको बताए ।

सोही बमोजिम बिमा कार्ड हस्तान्तरण गरिएको आजादले बताए । पालिकाले आयोजना गरेको बिमा कार्ड वितरण कार्यक्रममा सङ्घीय सांसद् ज्ञानेन्द्रबहादुर कार्कीसहित कोशी प्रदेशका सांसद्हरू इस्राइल मन्सुरी र सदानन्द मण्डलसमेतको उपस्थिति रहेको थियो । कार्यक्रममा सङ्घीय सांसद् कार्कीसहित प्रदेश सांसद् मन्सुरी र मण्डलका साथै गाउँपालिका अध्यक्ष आजाद र उपाध्यक्ष सुनिताकुमारी उराँवले बिमा कार्ड हस्तान्तरण गरेका थिए ।

कार्ड हस्तान्तरण कार्यक्रममा बोल्ने क्रममा सांसद्कार्की सहितका वक्ताले भोक्राहाको विकास सबैको साथ र सहयोगबाट सम्भव रहेको बताए । उनीहरू सबैले आ–आफ्नो तर्फबाट सहयोगसमेत उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनीहरूले अघिल्लो स्थानीय सरकारको दाँजोमा हालको स्थानीय सरकारका तर्फबाट तीव्र गतिमा विकास निर्माणको कार्य भैरहेको समेत बताए ।

जसमा सबै गाउँबासीको साथ र सहयोगको भने आवश्यकता रहेकोमा उनीहरूले जोड दिए । भोक्राहा नरसिंहले निःशुल्क उपलब्ध गराएको बिमा कार्डबाट २ सय परिवारका १ हजार जना लाभान्वित हुने छन् । पालिकाले यसअघिको वर्षमा गरी दिएको बिमासमेत नवीकरण गर्ने जनाएको छ ।